निषेधित वस्ति – सन्तोष थेवे

received_1815207878699732

चेतनाको बूढो इनारबाट
छचल्किदै पोखिने
अवसादको मसिनो डोरी समाउँदै
किन यो अनिदो मन
एक धर्को सिन्दूर
एक केस्रा ओठ
एक जोडी आँखा
एक अँगालो माया
बाचा कसमको थोत्रो झुम्रो
ट्रयांकुलाइजरको गोटीहरुमा बन्धकी राखेर
घरको मूल खाँबामा
बलात्कृत सपनाहरू झुण्ड्याउने गर्छ


मध्यरातमा
एक अम्खोरा तृष्णा बोकेर जीवनको
निला निला डामहरु छाम्दै ट्रयांकुलाइजरको
पर पर निषेधित वस्तिहरुमा पुगेर
निषेधित तलाउहरुमा डुबुल्कि मार्दै
जीउभरि उच्छवास सल्काएर
एक्लो एकान्त कालो रातमा
गाडेर अम्खोरा समुद्रको पिंधमा
लुरुलुरु घर फर्किन्छ


फरियाले मुख छोपेर
तृष्णा फुल्ने आँसुहरु
बाचा कसमको थोत्रो झुम्रोमा
थोपा थोपा थापेर जिन्दगी चाखिरहेछ
गोटी गोटी ट्रयांकुलाइजरमा जिन्दगी नापिरहेछ
अहिले समुद्र आगोमा नाँचिरहेछ
यसै भन्न गाह्रो छ साथी
मन भित्र समुद्र जलिरहेछ या समुद्र भित्र मन……………!

– सन्तोष थेवे

This entry was posted in Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *