नव युवक छोरा – निरज राई

niraj rai

उदाउँदैछ नवयुवा
हाम्रो “सानो”छोरा भित्र,
अलग समय अलग नजर
अलग उसको भावी जीवनचित्र।

उसको सपनाको क्यान्भासमा
नथोपरौ हाम्रा रंगहरू,
नथोपरौ हामीले खोजेका
डेट एक्स्पायर झै बाँच्ने ढंगहरू।

स्वच्छन्द उड्न चाहन्छ ऊ
उमेरको यो रंगीन घडीमा,
अलग देखिन चाहन्छ
आफ्नो सहपाठी भरिमा।
हस्तक्षेपका भित्ताहरूमा
आफ्नै दृष्टिकोण लेख्न चाहन्छ ऊ
बिहानीको संघारमा
नौलो दिशाबाट टेक्न चाहन्छ ऊ।

उसको बिचारमा हुर्किँदो
छामौं तरङ्ग नौलो क्षितिजका
सल्लाह भन्दा साथ दिऔं
कि झेल्न सकोस हार अनि जीत।
ठूलो र असल मान्छे बीचको
अन्तरकुन्तर आफै पहिलाओस,
आफ्नो माटो र देश सामु
सदा उसको शीर झुकाओस।
कि
उदाउदैछ नवयुवा
हाम्रो “सानो छोरा”भित्र
अलग समय अलग नजर
अलग उसको भावी जीवन चित्र।

This entry was posted in Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *