जन्म पहिचान – मनु कन्दङवा लिम्बू

image

 

 

 

 

 

 

 

 

 

म जन्मँदै

सुम्निमाकी छोरी

मैले
आमाको
गर्भमा छँदै
फाक्सा र पेना थी:
पिएको हुन्छु
र त म
भुकुल्ली ,मोटी र पोक्ची
जन्मिएँ
र छु

म जन्मिँदा
ज्वानोँ पड्काएर
पानी उमालेनन्
मेरा बाउले
ठेकी र मदानी पनि पखालेनन्
मेरो बाउले

जब मैले
एह्याँsS एह्याँsS गर्दै
पहिलो आवाज निकालेँ
नाल बिँडाएर
आमाले भित्र राख्न नपाउँदै
बाउले भ्वाक्कै खोलेका थिए
बोजुले खरानीले
पोतेर राखेको ९ महिने
छिप्पेको पेना थी: को घ्याम्पा

ढालेका थिए
मेरो बाउले
छुरी उम्रेको नौसिङ्गे भाले र
२ बर्षे
छिप्पेको बंगुर
अनि पिएको थिएँ मैले
आमाको दूध सँगै तन् तनी
फाक्साको बोसो र
पेनाःका रसहरु
अनि त म
सदाबहार रातो पिरो छु
बुच्चो अनि छुच्चो पनि
सानो छँदा
मलाई डोल्मा पनि भन्थे

म जन्मिए पछि
महिना दिन सम्म कोचेनन्
मेरो आमा र मलाई
बन्द कोठामा
तीन दिनपछि नै कोक्रोमा लगाएर
हल्लाए मलाई
मेरो बाजे र बोजुले
हाक्पारे ख्याली
साकेला , सिली गाऊँदै-गाऊँदै

जब म टुकु-टुकु
हिँड्न थालेँ
मेरो कलिलो हात समाउँदै
मलाई नाँच्न सिकाए
तिनै मेरो
बाजे र बोजुले

के: लाङ् ,माङ्लाङ अनि साकेला सिली,
मिथक, मुन्धुम र लिपीका
कथनहरु जोडेर
सरलाई सररर र सोई ढोले सोई
गाउँदै गाउँदै

जब म हुर्कँदै हुर्कँदै
केही कुरा बुझ्ने भएँ
बाजेले
नगरा निशान्, ढाल तरवार र
लालमोहरका
इतिहास सुनाए
ईमान सिङ् चेम्जोङ र
श्रीजङ्गा चिनाए

त्यसो र त आज
म सँग सिली छ
पालम छ
ख्याली छ
हाक्पारे छ
मुन्धुम र मिथकहरु छन्
अनि मेरो आफ्नै लिपी छ
कहीँ कतै
दबिएको इतिहास खोज्ने
मेरो बाटुलो अनुहारमा
मेरै आफ्नै पहिचानको राग छ
म सँग छैन,
मरन्च्याँसे,
च्याक्स्याक्क परेको अनुहार
अनि,
ऊ: परैबाट
आउने अत्तरका गन्धहरु ।

 

-मनु कन्दङवा लिम्बू
रचाकाल – १५ जुलाई २०१३ हङकङ

प्रकाशित- बलिहाङ्तङ्नाम मेरो मानसपटल
कविता सग्रंह २०१६

This entry was posted in Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *