स्यालको सिङ् र संझनाहरु – हाङयुग अज्ञात

 

एलियन ढुंगा उचाल्दै सुन्दर कुरुप

त्यसपछि लामार्कले जिराफको घाँटी देखाउँदै भने – ‘प्रिय डार्विन, जीवन प्रुफ मिस्टेक मात्रै हो ।’ धेरैलाई लाग्छ जीवन यात्रा हो । तेसोर यात्रा पनि प्रुफ मिस्टेक, हगि ! जस्तो बिर्तामोडबाट उकालो लागेपछि कुमार भाइको मारुती भ्यानले फिक्कल छेउमा पुगेपछि भन्यो- ‘सरहरू, अब म हिँड्न सक्दिन है, गेडी फुस्कियो ।’ टाइमिङले कस्तो संयोग पस्कियो, ग्यारेज अगाडि पुगेर गेडी फुस्कियो । तेतिबेलै राजनजीको प्रश्नले खाजाघरको मालिक झस्कियो- ‘बाहिर चैं खाजाघर लेख्ने, भित्र छिरेपछि चैं चिया मात्रै पाउँछ भन्न पाइन्छ ? हामी पनि यो देशको सम्थिङ्ग हो नि यार !’

रेगिस्तानी कवि तिर्थ संगमको एकल कविता वाचन रहेछ इलाममा । ऊ पनि पानपरागसँग पलेटी कसेर बसेथ्यो भ्यानमा । कवि विमल वैद्य र फरक आयामका भाइबैनीहरू जुटेका रहेछन् । रेगिस्तानी कविता गरुङ्गो हो कि त ! र पो बाटोमा भ्यानको गेडी फुस्कियो ।

 

दमक फर्केपछि कुमारले भन्यो- ‘दाइ म कार किनुँ कि स्कोर्पियो किनुँ ?’ मैले भनें- ‘स्कोर्पियो किन्नु, उकालोमा तान्छ ।’ उसले फेरि भन्यो- ‘उपेन्दाइले त कार भन्नू भा छ ।’ ‘उसोभे स्कोर्पियो किन्दा कार पनि दिने दोकानमा किन्नु नि त ।’ मैले भनें । ‘ह्याह्याह्या ! दाइहरूको गफै मीठो लाग्छ । त्यै भर हजार काम छोडेर पनि दाइहरूसँग हिँड्छु । योचोटि चैं घर रङ्गाउनु थ्यो । नत्र मै जान्थें ।’ कुमारले स्टेरिङ घुमाउँदै भन्यो । ‘ए ए ए, लाखे है !’ गफको धुनमा अगाडिको बाइकको टुच्च उठेको चाकमा झन्डै किस खाई त हाल्यो ।

 

फरक आयामका भाइहरूको वन काँडाजस्ता तिखा धारिला रचना सुनेर चित्त भरियो । अन्वेष थुलुङ लगायत अन्य भाइबैनीहरूका रचनाहरू निक्कै अग्लो शिखरतिरको यात्रामा रहेछन् । ‘तिम्रो कविता प्रेमपत्र जस्तो हुँदैछ है’ रेगिस्तानी कविलाई राजनजीले भन्नू भो, रेगिस्तानी कविले चैं कतारमा लेखेका कविताहरू गन्नु भो, छान्नु भो । दुईएक कविता त राम्रै थिए त नि- स्वप्नीलले काठमाडौंमै भन्दैथ्यो ।

 

कतारमा ट्वाइलेट सफा गर्ने स्पिरिट ख्वाको सम्झना आलै छ राजनजीसित । खगेन्द्र सङ्ग्रौलालाई पनि त्यही जिनिस चखाएछन् रेगिस्तानीहरूले, बुढा ज्वरो आएर आधारातमा आन्द्रा पल्टेर झन्डै सिकिस्त भएछन् । खगेन्द्र बुढाले काठमाडौंमा झ्याप्पै अङ्गालो हालेर कानमा फुस्फुसाए- ‘भाइ हाउ, रेगिस्तानको दुर्घटना पश्चात् पिउन छोडें ।’ बेलुकी बुढा हातमा रेड वाइन सुँघ्दै राजन मुकारूङ, वसन्त बस्नेत, अनुप बराल, श्रवण मुकारुङ, स्वप्नील स्मृति, उज्ज्वल प्रसाईं, जगदीश अधिकारी, मुक्तान थेबा, प्रकाश गुरागाईं, चन्द्रबीर तुम्बापोसँग हाँस्दै थिए । जिन्दगीमा कोटा पुगिसकेका हामी (उपेन्द्र सुब्बा र म) पानी पिउँदै हाँस्यौं ।

 

कवि प्रकाश थाम्सुहाङको घरमा साथीहरू तोङ्बाको पिछिङ्लाई माइक बनाएर भाषण गर्दै थिए । म त सुतिहालें । शिवजीको प्रसाद उबारिदिएका रहेछन् । कताकता मान्छेहरू रोएको कराएको मधुरोमधुरो सङ्गीत आइरहेथ्यो । झिपिक्कै निदाइहालें । सपनामा नोम चोम्स्कीसित जम्काभेट भो, खल्ली रछ सुड्डो । चोम्स्कीले न्युरोनको साउन्डबक्समा भन्यो- ‘हाउ लुँगा ! गाँजाभन्दा चुरोट हानिकारक छ । तर सरकारले गाँजा खानु प्रतिबन्ध लगाउँछ । किन ? किनभने गाँजालाई कानुनी मान्यता दिदाँ चुरोटबाट पाइरहेको राजस्व पाउँदैन । मान्छेले गाँजा आफ्नै घरको गमलामा रोपेर खान सक्छ । तब चुरोट कम्पनी डुब्छ ।’

 

दिउँसो कवि विमल वैद्य आइपुगे भट्भटेमा । हामी इलामको पर्यटकीय स्थल ‘भालु ढुङ्गा’ हेर्न गयौं । चुरेघाँटी मास्तिर छोटे डाँडा पर्तिर छ भालु डुङ्गा । स्कुल पढ्दा भागेर यो ढुङ्गामा खेल्न म धेरैचोटि आएको छु । एकदिन कृष्ण(थोते), मोहन(टिक्टिके), सन्तोष(टाइसन) र म आएका थियौं । भालु ढुङ्गाको मुनि गुफा छ । स्कुलमा सरले जीवनमा केही आविष्कार गर्नु पर्छ भन्नुहुन्थ्यो । तेसोर हामी गुफामा प्राचीन कुराहरू हुन सक्छन् भनेर आविष्कार गर्न आएका थियौं । गुफाको प्रवेशद्वार साँघुरो थियो, कुइनाले टेक्दै हामी अगाडि बढ्न थाल्यौं । टिक्टिके अलि आँटी थियो । ऊ अगाडि थियो स्यालको आधी सुकेको स्यालको लेंड कुइनाले टेकेछ । छिर्बिरे कुखुराका प्वाँखहरू निस्किए ।

 

गुफामा स्यालको लेंड मात्रै रहेछ । अब स्कुलमा लाज हुने भो । गुफा नै गएनौं भनौं ।’ थोतेले भन्यो । मैले भनें- स्यालको लेंड कस्ले देखेको छ र ? यो पनि ठूलो आविष्कार हो । प्लास्टिकमा पोको पारेर लैजाऊँ ।’ ‘तँ आफै बोक् !’ टाइसनले भन्यो । मैले वाइवाइको प्याकेटमा स्यालको सुकेको लेंड बोकें । घर ल्याएर हर्लिक्सको सिसामा राखें । भोलि स्कुल लगेर देखाएँ कक्षामा – ‘स्यालको सिङ्ग ! हिहिहि !’ स्कुलभरि हल्ला चल्यो, मसँग स्यालको सिङ्ग छ । स्यालको सिङ्ग भेटेको यही भालु ढुङ्गालाई पर्यटकीय स्थलको रूपमा विकास गरिदैं रहेछ ।

 

भालु ढुङ्गा खासमा भालुजस्तो छैन, एलियनको टाउको जस्तो छ । यान दुर्घटनामा परेर अन्तरीक्षबाट झरेको एलियनको अनुहार प्रष्टै देखिन्छ । समयले जसलाई ढुङ्गा बनायो । यसको नाम एलियन ढुङ्गा हुनुपर्ने हो । यो गुफा हो, प्लेटोको गुफाजस्तै गुफा हो । तर गुफाभित्र आगो फुकेर आफ्नै छाँयासँग तर्सेर निस्केपछि मलाई लाग्यो यो प्लेटोको गुफा होइन, यो ‘हाङयुगको गुफा’ हो जहाँ मेरो बाल्यकाल बित्यो ।

 

सुन्दर कुरूपले सिसिफस जस्तो ढुङ्गा काँधमा हाल्दै भन्यो- यो ढुङ्गामा म दाजुको अनुहार खोप्छु । अमेरिकामा छ नि अब्राहम लिङ्कनको, हो तेस्तै । भावुक छ मेरो भाइ । उसको भावुकताको अर्थ मैले राम्रैसँग बुझेको छु । मलाई लाग्छ भावुकता पनि स्वार्थ हो । फल्नाले बतासको कलमले रूखको पातमा लेख्यो- ‘पृथ्वीमा मानवको विकास ‘सेल्फिस जिन’को करामत हो।’ बाँसघारीबाट अक्षरहरू फिरफिर घुम्दै झरे । मैले भनें- ‘यो ढुङ्गामा मेरो अनुहार खोप्नु भनेको ढुङ्गामा ढुङ्गा खोप्नु हो । किनभने मेरो अनुहार र ढुङ्गामा केही फरक छैन । हेर त मेरो अनुहार ढुङ्गा भैसकेछ ।’

  • हाङयुग अज्ञात
This entry was posted in Literature, Prose. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *