ती कविताहरू कहाँ छन् ? – हाङयुग अज्ञात

hangyug

कवि हाङयुग अज्ञात

पहिलोपटक पत्रिकामा कविता प्रकाशन हुँदा रातभरि निन्द्रा लागेन । रूपरेखा साप्ताहिकमा सम्पादक कुमार यात्रुले प्रोत्साहन गर्न छापिदिएको त्यो मेरो पहिलो कविताको शीर्षक थियो- म कैदी भएको छु । जिन ज्याक रुसोको एउटा महान् अभिव्यक्ति छ- ‘Man is free but everywhere he is in chain.’ रुसोको यही अभिव्यक्तिबाट प्रभावित भएर ‘म कैदी भएको छु’ भन्ने कविता लेखेको थिएँ ।

रातभरि त्यो कविता धेरैचोटि पढ्दै बसें । जति पढ्यो उति मजा लाग्ने, अनि फेरि अर्को कविता लेख्न बसें । तर अर्को कविता फुरे पो । भूपी शेरचनले भने जस्तो लेख्यो केर्‍यो मेट्यो, तेस्तै भएको थियो ।

मेरो कविता छापिएको रूपरेखा पत्रिकाको गन्ध अझै पनि मेरो नाकमा झुन्डिएको छ । कालो लिथोको गन्ध मनमै गढेको छ । शब्दहरू यति सुन्दर लागेको थियो कि संसार जितेको अनुभूति भएको थियो । एककिसिमको ‘enlightenment’ भएको थिएछ त्यो बेला । अहिले मस्तिष्कको बानीबेहोरा अध्ययन गर्दा यस्तो लाग्छ ।

तेसपछि पत्रिकामा कविता छपाउने रहर झन् बढ्न थाल्यो । नेपाल मासिकमा रमण घिमिरेले दुईवटा कविता आफैले मागेर पालैपालो प्रकाशन गरिदिएका थिए । ‘आऊ सामुहिक आत्महत्या गरौं’ र ‘बूढो उत्तिसको रूख’ नेपाल मासिकमा प्रकाशन भएपछि अलि फैलावट बढेको महशुस भएको थियो ।

माओवादी युद्धको अन्तिमतिर लेखिएको आत्महत्याको कविता चैं योगमायाले अरुण नदीमा हाम्फालेर गरेको सामुहिक आत्महत्याको प्रभावबाट ल्याएको थिएँ । अनि बूढो उत्तिसको रूख भन्ने कविता चैं ‘एज्रा पाउण्ड’ हुने झोंकमा लेखेको थिएँ, ‘मुकुसाम्बा’ भन्ने मिथक चलाएको थिएँ यो कवितामा ।

गरिमा र मधुपर्कमा कविता नछाप्ने नै भनेर छापिएन । तेतिबेलाका गरिमा र मधुपर्कका सम्पादकहरूले कविता मागेनन् पनि । यसले कविता दिदैन भन्ने पनि लागेको हुनुपर्छ उनीहरूलाई । या भने उनीहरू सम्पादक भएकोमा आफूलाई महान् ठान्थे । उनीहरूलाई नमस्कार गर्दै गइएन पनि ।

तथापि, गरिमा र मधुपर्क कहिलेकाहीँ हेर्ने गर्थें । गरिमामा प्रकाशित दुईवटा कविताले मलाई छोयो । एउटा सरुभक्तको ह्वेल माछाहरू तेस्तै केही थियो, अर्को श्रवण मुकारुङको माझी गाउँको तारा यस्तै केही थियो । अर्कोतिर मधुपर्कमा प्रकाशित बैरागी काइँलाको अविरल बग्ने लिजियाङ नदी र अभिशप्त पहाड भन्ने कविताले मस्तिष्क पुरै रातो बनाएको थियो ।

‘भाइ कविता दिनुस् हामीलाई पनि’ भनेर तोया गुरुङले प्रज्ञा प्रतिष्ठानबाट निस्किने कविता भन्ने पत्रिकामा मेरो दुई कविता प्रकाशित गरिदिए । ती कविताको शीर्षकहरू ‘फूलको कथा’ र ‘राजकुमार’ हो कि जस्तो लाग्छ । फूलको कथा गाउँबाट शहर आएकी प्रेमिकाको कथा थियो भने राजकुमार भन्ने कविताको कथा बिर्सें ।

मिर्मिरे भन्ने पत्रिकामा कृसु क्षेत्रीले ‘मृत्यु उत्सब’ भन्ने कविता छापिदिएका थिए । शब्दशताब्दीमा शशी लुमुम्बुले एउटा कविता छाप्न लगेका थिए, उनले छापे कि छापेनन् सम्झना छैन । अरु पनि थुप्रै पत्रपत्रिका हुँदो कविताहरू प्रकाशित भएका छन् ।

तर अहिले बल गर्दा पनि सम्झन सकिनँ । ‘जीवनको सपना’ भन्ने कविताको शीर्षक याद छ तर छापिएको कविता भुलें । जजस्ले मसँग कविता मागे सबैलाई दिएँ । तर पत्रपत्रिकामा प्रकाशित भएका कविताहरू सङ्ग्रहमा राखिनँ । अहिले थकथक लाग्छ, ती कविताहरू हराए । अब कहाँ खोज्ने ती कविताहरू ?

कति कविताहरू डेरा सर्दा हराएँ । कम्प्युटर क्र्यास हुँदा गुमाएँ । केही कविताका शीर्षक सम्झना छ । जस्तो एउटा कविताको शीर्षक थियो ‘प्रेम मुर्दावाद’ । तर कविताको थिम र लेखन शिल्प र शैली बालुवाले पुरिएको पिरामिड जस्तो भएको छ । ‘प्रेम मूर्दावाद’ भन्ने कविता फेरि कुनै दिन समयको गर्तबाट खोतल्छु ।

आज विश्वकविता दिवसको सन्दर्भमा आफ्ना ती पुराना कविताहरूको याद आएर यत्ति चाहिँ लेखें । कुनै दिन ती कविताहरूको सङ्ग्रह निकाल्ने सपना छ । बाँचिसकेको समयको पनि माया लाग्दोरहेछ, मैले बाँचेको समय ती कविताहरूमा छन् । तर ती कविताहरू कहाँ छन् ? आफैसँग चित्तबुझ्दो उत्तर छैन ।

This entry was posted in Literature, Prose. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *