छोरा : मेरो साथी – सुरेश यक्सो

19029339_1464509633594737_4276097051072920143_n

यस धर्तीमा आउनु पहिले, ऊ
उसको अस्तित्व छ भन्ने सुनेको दिन
म कल्पिएर
चङ्गाझैं हल्का भई खुसीले नाँचेको हुँ
हो त्यही पल थियो
पहिलो पटक म
आँफैभित्र हराएको दिन ।

उसको धर्तिमा आगमनसँगै
सधैं जवान हुने कामना गर्न छाडेको त्यो क्षण
म खुसीले झुम्दै
मैले मेरा निजी रहरहरू भुलेको हुँ
हो त्यही पल थियो
पहिलो पटक म
आँफैलाई बिर्सेको क्षण ।

उसको हरेक मुस्कानमा
म आफ्नो खुसी देख्छु
उसको हरेक पीडामा
म रूने गर्छु
ऊ बिमार हुँदा
म आँफै बिमार हुन्छु
उसले नखाएको बेला
मेरो भोक हराउंने गर्छ
उसलाई निन्द्रा नपर्दा
म आँफैं अनिंदो हुन्छु
साँच्चि, ऊ मेरो रिमोट कन्ट्रोल भएको छ ।

म उसको भरोसा
म उसको विश्वास
म उसको आदर्श
म उसको घोडा
अनि म उसको मनमिल्ने साथी

जब थाकेर घर आउंछु
उसको मिठो मुस्कानले थकान हराउँछ
जब पीडामा हुन्छु
उसको उपस्थितिले सारा पीडा गायब हुन्छ
जब हौसला टुटेर मरे तुल्य हुन्छु
उसको स्पर्शले म आफूलाई जिउँदो पाउँछु
बेअर्थ जीवनमा
उसको एक नजरले आफू हुनुको अर्थ पाउँछु ।

उसका कठीन मोडहरूमा
आफ्नो कठीन ठान्छु
उसका असफलताहरूमा
आफ्नो असफलता ठान्छु
उसका प्रगतिहरूमा
आफ्नो प्रगति ठान्छु
उसका हरेक पाइलामा
उसका हरेक सासमा
म आफूलाई पाउँछु ।

मेरो झरेका पसिनाहरूले
ऊ हिंड्ने बाटोको फोहोर पखाल्न चाहन्छु
मेरा खिइंदै गएको हातहरूले
ऊ लछ्यमा पुग्ने पुल बनाउन चाहन्छु
मेरो झर्दै गएको कपालले
उसले सजाएको सपनाको घर बनाउन चाहन्छु ।

मेरो विश्वास ऊ हो
मेरो भरोसा ऊ हो
मेरो सपना ऊ हो
मेरो बिपना ऊ हो
मेरो भविष्य ऊ हो
नढाटी भनुँ ?
मेरो सर्वस्य ऊ हो

उसलाई देखेपछि रिस हराउँछ
उसलाई भेटेपछि लोभ हराउँछ
उसलाई सोंचेपछि ‘मेरो’ भन्नु हराउँछ ।

योभन्दा सामिप्य
योभन्दा आत्मिय
योभन्दा निस्वार्थ
योभन्दा निष्कलंक
योभन्दा निष्कपट सम्बन्ध
एउटा साथीका लागि अरू के हुन सक्छ ?
त्यसैले त ऊ मेरो साथी
अनि म उसको ।

This entry was posted in Literature, Poem. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *