सुनामी विचित्रा (कथा) – बादल स्वामी

bichitra

त्यो हिउँदे समय थियो । कुईरोको भुमरीमा हराएको गुमनाम शहरको गुमनाम एउटा कम्पनीमा म काम गर्थेँ । गुमनाम कम्पनी शहरको मूल सडकमा थियो । मूल सडक साँघुरा थिए । त्यहाँ पैदल यात्रीहरु खुम्चेर हिड्नु पर्दथ्यो ।

कम्पनीको उत्तरतिर त्यस्तो पचास मिटर पर हुदो हो त्यहाँ पिपलको वृक्ष थियो । पिपल वृक्ष बाङ्गा टिङ्गा एवम् ठुला ठुला हाँगाले भरिएका थिए । पातहरु पान आकारका एवम् हरिया पहेँला थिए भनुँ । पिपलका फेदमा घाँसको बेन्च थियो । बेन्चमा सधैं बच्चाहरुको बैठक हुन्थ्यो । बच्चाहरु गुमनाम शहरका सडक बालकहरु थिए । गुमनाम शहरमा त्यहीँ एउटा प्राकृति वृक्ष मात्र थिए । जे होस् ! पिपल वास्तवमा अजङ्गको ठूलो वृक्ष गजबको थियो । तर कस्तो अफसोस थियो भने त्यस वृक्षमा कुनै चराको बासस्थान थिएन । कुनै चराचुरुङ्गीको खैलाबैला थिएन । प्रेम जोडी चरे चरीको सुमधुर आवाज कहिल्यै सुनिएन ।

जे होस् ! पिपल वृक्ष आफैमा एउटा अपुरो वृक्ष छु भन्ने पिपललाई आभास हुने गर्दथ्यो। तर कोही पनि गुमनाम शहरका मानिसहरूलाई कहिल्यै पिपल अपूरो लाग्दैनथ्यो । देख्नमा जो पनि पूर्ण देखिन्छ भित्रै भित्र पो हरेक थोक अपूरो हुन्छ । पिपल वृक्ष आखिर त्यस्तै थियो ।

पिपल वृक्षको अलिक पर गुमनाम कम्पनी छ,जहाँ हरेक रात दिन गुमनाम शहरका भोको मनुष्यहरु मेशिन हुन्छ । जीवनको एउटा अक्षरमा बाध्य पारेका भोको मनुष्यहरुलाई मेशिन बनाईन्छ । वास्तवमा तिनीहरू कम्युनिस्टले छल गरेका गोर्कीका प्रिय आमाका वास्तविक पात्रहरू थिए । रगतको खोलोले सत्यता कुल्चन सक्दैन भन्ने सन्तानहरु दिनरात रगत बगाईरहेका थिए । जति रगत बगेर गई सक्दा पनि तिनीहरु सत्यताबाट टाढा नै थिए । गुमनाम कम्पनीमा आफैमा गुमनाम तिनीहरू दिनरात नभनी खटिरहेका हुन्थे । त्यस मध्येमा म पनि भर्खरै गुमनाम कम्पनीको सदस्यीय हुन गएको थिए । जाँदै पो थिए । गुमनाम कम्पनी आफैमा गुमनाम थियो । गुमनाम कम्पनीको संस्थापक मालिक गुम नाम थियो । जसलाई कम्पनीको तानाशाह मालिक भनिथ्यो । तानाशाह किन भने गुम नाम जो कडा खालको रिसाहा मनुवा थियो तथा रुखो एवम् घमण्डको छनकार थियो । जसलाई पनि उ आदेश दिएर काम लगाउने गर्दथ्यो । जो कसैलाई पनि मनपर्दैनथ्यो । ती भोको मनुष्यहरु विवशताले च्यापेर काम गरेका थिए । रुखो मालिककहाँ उनीहरूलाई काम गर्न पटक्कै मन थिएन तर त्यस कम्पनीबाट निस्केर अन्तै कम्पनी जान सक्दैनथे । किनकि गुमनाम शहरमा त्यही एउटा गुमनाम कम्पनी थियो । भोको मनुष्यहरुको लागि एक छाक मेलो टार्ने त्यहि एउटा कम्पनी थियो ।

तर बेला बेला गुम नाम मालिक भलाद्मी मानिसझै लाग्थ्यो । त्यो उसको कामदारलाई च्याप्ने देखावटी नाटक मात्र थियो भन्ने लामो समयपछि चेत भयो ताकि कामदारहरुले गुमनाम कम्पनी नछोडोस् । किनभने गुमनाम शहरमा भोको मनुष्य दिनानुदिन सङ्ख्या घटिरहेको थियो । तिनीहरू गुमनाम शहर छोड्दै गईरहेका थिए । गुम नाम जे होस् छोटकरीमा गुमनाम जुका थियो । उ रगत चुस्ने मनुष्यको जुका थिएन । मनुष्यको पसिना चुस्ने जुके मनुष्य थियो ।

प्रिय पाठक !
वास्तवमा माथिको कुनै कथा होइन । म जादै थिए । गुमनाम कम्पनीमा गुमनाम एउटी युवती थियो । गुमनाम शहरमा मैले देखेको पहिलो मानिस उनै युवती थियो । पहिलोचोटि भेटमा मैले उसको आँखामा आँसु र ओठमा मुस्कान देखेको थिए । आँखामा आँसु अनि ओठमा मुस्कान ! त्यो पनि पहिलो भेटमा ? यो हुन सक्छ कहीँ ? वाहियात ! तपाईंलाई लाग्न सक्छ । तर मान्नुस् यो अति रहस्यमय थियो ! बर्षौ पछि परदेशीएको आफ्नो प्रेमी भेट्दा जून किसिमको खुशी व्यक्त गर्छन् प्रेमीकाहरु, उसको मुस्कान र आँसुमा मैले त्यहीँ अनुभुति गरे । जून अनुभुतीले मेरो मुटुको धड्कनबाट धड्किएर शरीरका सवत्र नशा नशामा दगुरेर गयो । जुन उसको हेराईले तिमी यतिका सम्म कहाँ गएका थियौ ? प्रश्नले मलाई सिधै तेर्साझै लागेको थियो । मलाई भित्रै भित्रै हलचल ल्याईदिएको थियो ।

यस भन्दा अगाडि कुनै पनि युवती मेरो अगाडि आश्चर्यजनक उपस्थित भएको थिएन । भनु आश्चर्यजनक युवती भेटेको थिईन । हुनसक्छ मेरो नाउँ सुनी या मलाई सपनामा भेटी र मलाई कल्पनामा भेटी र प्रेम गरी । हुन सक्छ , त्यहीँ बेला मनोदशाले ग्रसित भएर आँसु चुहाल्दै उभिएको पनि हुन सक्छ । हुन सक्छ म गुमनाम कम्पनीमा आउनु भन्दा अघिल्लो तीन दिनअघि आउदै छु भन्ने जानकार दिएको थिए । तीन दिन पर्खेर बसेकाले हुन सक्छ । त्यो रहस्यमय लेडी सपना मात्र
हुन सक्छ । तर तपाईं जे भन्नुस् पत्यानुस् या नपत्यानुस् मेरो अनुमानहरु केही शतप्रतिशत सही ठहरिन पनि सक्छ !

उ विचित्र थिई । उसको बोलाई विचित्र ! उसको हेराई विचित्र ! उसको गराई विचित्र ! अनि उ विचित्रबाट विचित्रा भएकी थिईन् । कस्तो चाखलाग्दो हैन त ? वास्तवमा उ चाखलाग्दी विचित्र नै थिई ।

म उसको छेउमा पुगे । निकै मेहनतका साथ गहिरा आँखाले हेर्दै गए । कतै भूतपूर्व प्रेमिका पो थियो कि ? या विगतमा छुटेको कुनै छाँया पो थियो कि ? म जसै उसको छेउमा पुगे ।
” तपाईं आई पुग्नुभयो। म खुशी भए । ” उनले मलाई हतास भएसरी अङ्गालो बाँधेर भनिन् । अनि केही क्षणपश्चात् बिस्तारै छुटिन् । र भनिन् ” सरी ! ”
उनले खुशी भएर भनी । अङ्गालोमा बाँधी । अनि सरी भनी । यो त अदभूत क्षण थियो ! र यो केको लागि थियो । त्यो खुशीमा के थियो ? त्यो आँसुमा के थियो ? त्यो मुस्कानमा के थियो ? त्यो ” सरीमा ” के थियो ? सबै रहस्य थियो । यो रहस्य क्षणमा मैले के भन्नुपर्छ भन्ने मलाई दिमागमा आईरहेको थिएन । उसको ढुकढुकीले मेरो हृदयको ढुकढुकीलाई छुवाएर बर्षौ बर्षौ मरिसकेको आत्मालाई उठाएको थियो । उसको कोमल आत्माको जादु छुवाईले मेरो मुटु प्रेमिल भई आएको थियो । म उसको आत्मामा प्रत्यारोपण भएको थिए । जवाफमा केवल फिस्छ हाँसिदिएँ । खै कुन्नि ? मेरो गाला तैसै तेसै रातोपिरो भएका थिए । सायद म लजाए हुँ । उसैले फेरि कुरा थपिन् ,
“कम्पनी बन्द छ ।”
“हँ ! कम्पनी बन्द छ ?”
“अँ बन्द छ । तीन दिन पछि खुल्छ ।”
“किन बन्द छ ? ”
“कम्पनी नाकाबन्दीको चरम भ्रमणमा छ । अहिले अनिश्चित बन्द छ ।”
म खिस्स परे । अलपत्र हुने भो भन्ने भान हुदै थियो । उसैले फेरि कुरा थपि
“तपाईं नआत्तिनु , मैले तपाईंको बन्दोबस्त मिलाएको छु । ”
“अनि तपाईं चाहिँ को हुनुहुन्छ नि ? मैले उसलाई सोधेको थिए ।”
“डियर सुनामी , म को हो ? त्यो तपाईलाई थाहा छ । ”
ओ गड ! अब कसरी थाहा पाउनु ? मैले आफ्नो नाउँ बताएको छैन । ओ गड ! उसले कसरी मेरो नाउँ थाहा पाई होली ? म बढो अचम्मित भएको थिए । के जवाफ दिउ भनी बढो अलमलमा परेको थिए । उसैले फेरी कुरा थपी
“सुनामी, तपाईले मलाई चिन्नुभएन ?”
ओ गड ! फेरि म झनै चकित भएको थिए उसको प्रश्नले । म उसको प्रश्नको जवाफ दिन आफ्ना विगतमा छुटेका सबै छाँयाहरु खोजे । हुरुरु दौडेर मानसपटलको कुनाकप्चा सबैतिर बढारेर खोजे । अहँ भेटिन । जति खोजे पनि उसको छायाँ भेटिन । मैले क्षमाप्रार्थी भई भनेँ ” सरी ! मैले तपाईलाई चिनिनँ ।”
“ईट्स ओके म विचित्रा हो । यो हाम्रो भौतिक स-शरीर पहिलो भेट” हो । अध्यात्मिक रुपमा म भूतपूर्व तपाईंको प्रेमिका थिए । मेरो नाउँ सुनिहाल्नु भो । लौ चिन्नुभएन ?
ओ गड ! मेरो भूतपूर्व प्रेमिका ? अध्यात्मिक प्रेमिका ? विचित्रा ? मेरो निधार खुम्चयो । मलाई विचित्रा युवती विचित्र लागिरहेको थियो । मैले फेरी बलजफ्ती मेरो जीवन स्मृतिलाई पूर्ण स्मरण गरे । अहँ मेरो स्मृतिमा विचित्रासँग यस अघि भेट कही भएको छैन । मेरो मनस्थिति खल्बलिएको थियो । सायद उसले बुझी होली र मलाई उसको घरमा लिएर गई । गल्ली हुदै उसको घरतिर लागियो । पिपल वृक्षको पश्चिमतिर मलाई लगिन् । पश्चिमबाट दक्षिणतिर मोडिन् । अनि एउटा घर आयो । घर हिउँको थियो । अनि उसले भनिन् ,
यो मेरो घर हो ।
मैले ए..भने ।
घर नम्बर २०७२/१२/३० को थियो । घरको ढोका आफै खोलियो । कसले खोल्यो ? उताउति हेरे कोही देखिन । कोही थिएन । विचित्राले मलाई भित्र लगिन् । भित्र कोही थिएन ।भित्तामा अक्षहरु पोतेका थिए । झ्यालमा अन्ध्र आकारका जून थिए ।
तपाईं यहाँ बस्नु ?
म कहाँ बस्नु ? मैले बस्ने ठाउँ नदेखेर भनेको थिए । उसले मलाई बसाई दिईन् । म केमा बसेको थिए । मलाई नै थाहा थिएन । तर म बसेको थिए ।
मलाई तिर्खा लागेको थियो । मैले पानी ल्याई दिनुस् भने । उनले पानी ल्याएर दिईन् । मलाई भोक लागेको थियो । उसले खाना बनाएर ल्याएर दिईन् । मैले उसँग गरेको कुराकानी :
विचित्रा , लौ भन अब म तपाईंको कसरी भूतपूर्व प्रेमी थिए ?
विचित्रा यस पटक मौन भएकी थिई । उ गुपचुप भएकी थिई । उनी आफ्नो आफ्नो ठाउँबाट उठिन् । मेरो नजिक आईन् । एकचोटि फेरी अङ्गालो हालिन् । सुुस्तरी एवम् मीठास लयमा भनिन्
सुनामी , म यो सब बताउन चाहन्न । मैले तपाईलाई पर्खेर बसेको हजार युग बितिसकेको छ । किनकि म तपाईलाई प्रेम गर्छु । म त्यो दिन पर्खेर बसेको छु ,जुन दिन तपाईं र म एक साथ भएर यो शहरमा बाचेका हुन्छौं। जुके मनुष्यबाट म असुरक्षित भएको छु । प्रिय मेरो राजा तपाईं चाडैं आउनुस् र मलाई सुरक्षित गर्नुस्। म तपाईंको बाहेक कसैको होइन । उसले यसो भनीरहदा मेरो आत्मा भिज्दै गएको थियो। मैले केही जवाफ दिनै आटेको थिए । म झसङ्ग भई ब्युँझिए ।
प्रिय पाठक !
म अहिले चिहानमा छु । मलामी आएका मान्छेहरुले मलाई देखेछ । मलाई भुइँमा लडिरहेका एवम् फुसफुस गरेको देखेछ । मलाई जती उठाउदा पनि उठिनछु । अनि मेरो शरीर भरी पानी छर्किएछ । अनि म ब्युँझेछु ।
“म काँ छु ?’
“तिमी चिहान डाँडामा छौ । ”
मेरी विचित्रा खोइ ?
“तिम्रो विचित्रा चिहान भित्र छ । ”
कसैको जवाफ सुनेर म सुँक्क सुँक्क भए । नभने पनि हुन्थ्यो नि !

This entry was posted in Fiction/Non-Fiction. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *