माछामाछा भ्यागुता – निरज राई

machha machha

कलिलो समय बालापनको। त्यति बेला अहिले बगर भएको सर्दूखोलामा बाह्रैमास पानी बग्थ्यो। मधेस र पहाडको सीमाना छुट्याइ बग्ने सर्दूमा बर्खामास भेल उर्लिए पनि जाडोयाममा चाहिँ थोरै पानी बग्थ्यो।

घरबाट नजिकै भएकोले हामी केटाकेटीहरूको लागि खेल्ने अनि नुहाउने ठाउँ थियो सर्दू। बर्खामा चाकमा सिमलीको स्याउली राखेर सर्दूको भेलसंगै बगेर तलतल पूग्थ्यौ। अनि जाडोमा यसको भङ्गालोमा ढुंगाले बारेर सानो तलाउ बनाइ नुहाउथ्यौ अनि खेल्थ्यौ। सर्दूमा ढुंगाको चेपचापमा गँगटो ,ससाना गदेला माछा पाइन्थ्यो।

एकपल्ट मेरो छिमेकी साथीले सर्दुबाट गदेलाको भूरा (खोइ,मैले त्यो भन्दा ठूलो त देखिन) समातेर घर ल्याई पानी राख्ने ढ्वाङमा पाल्न राखेको रहेछ र मलाइ देखाए पछि ममा पनि त्यसरी माछा पाल्ने बालरहर पलायो। र कहिले शनिबार आउँछ र सर्दू जानु भनेर छटपटिन थाले।

अर्को शनिबारको बिदामा बिहानको खाना खाएर हामी सर्दु खोला गयौ। मैले घरबाटै सानो बोतल बोकेको थिए माछा समाएर राख्न भनी।
दिनभर अरुसंग खेल्न नमिसिएर छिमेकी साथी र म माछा समात्न तिर लाग्यौ ।ढुङ्गाको चेपचाप खङ्गाल्दा घर फर्किने बेलासम्म मैले 3 वटा गदेला माछा समातेर बोतलमा हाले।

घर फर्कने बाटोमा म आफुले समातेको माछा मख्ख परेर अरुलाई देखाउदै थिए। दाइले मैले समातेको माछा हेरेपछि हास्दै भन्नू भो ,” लाटा, यो त चेपेगाडा पो हो त!”

दाईको यो उद्घोषणले मेरो बालमस्तिस्कमा बिष्फोटन नै गरायो। दिनभरको प्रयासले प्राप्त प्रतिफल नै शुन्यमा बिलाएपछी आँखा आसुले डम्म भरियो। चित्त नबुझेर एकपल्ट फेरि बोतल भित्र नियाले। शीर देखि पूच्छर सम्मै भ्यागुताको कुनै अंश पाईन। सर्लक्कै माछाको स्वरूपमात्रै देखे।अनि” यो बोतल भित्रको जीव माछा होइन भन्ने आधार केछ?” भनेर उल्टै दाईको गिदि ह्याप्स गर्न थाले। दाइ चै,”एकदुई दिन पछि थाह पाइहाल्छस” भनेर उम्कनु भो।

घर फिर्ने बाटो भरी मनमा अनेक तर्कना आए। र अन्तमा, “आ,, जे भए पनि लगेर घरको पानी ट्यान्कीमा राख्छु, यति दुख गरेर समातेको किन फाल्ने? फेरि यो चेपेगाडा नै हो भन्ने पनि त निश्चित छैन!” भन्ने सोचमा मन अडियो।

साझपख घरमा पूगेपछि आमाले थाह नपाउने गरि सुटुक्कै मेरो मनको त्यो माछा पानी ट्यान्कीमा हाले। र बेलुकीको खानाबाट अलिकती भात छुट्टयाएर सुटुक्कै हालिदिए।

त्यो रात सपनामा मैले समातेको माछा त बडेमानको भ्यागुतो भएर ट्यान्कीमा छपलङ्ग छप्लङ्ग पौडी पो खेल्दै गरेको देखे। अनि म चाहिँ सानो गदेला भएर उसंग ज्यान बचाउन भाग्दै थिए कि अचानक “कान्छा, उठ स्कुल जानु ढिलो होला” भनेर आमाले झक्झकाएर उठाउनु भो।

यसरी उठ्नु बित्तिकै हिजोको माछा सम्झेर हत्तपत्त ट्यान्की भएतिर दौडे। त्यहा त बाबा बर्बराउदै तल्लाघरे प्लम्बर बुढासंग ट्यान्कीमा पानी भर्ने धाराको पाइप मर्मत गर्दै हुनुहुन्थ्यो।”ला बाबाले थाह पाउनुभएछ कि क्या हो?”मनमनै डराउदै बिस्तारै बाबा नजिक गएर कान थापे।धाराको टुटि बिग्रेर बन्द नहुदा रातभरी ट्यान्कीमा पानी भरिएर पनि ओभर फ्लो भएछ। अनि बाबा पानीको नाश भएकोमा चुक्चुकाउनु हुँदै थियो।

यो कुरा थाह पाउन साथै मनमा चिसो पस्यो हत्तपत्त गएर ट्यान्की भित्र मेरो माछा खोज्न थाले। त्यहाँ माछाको अवशेष धरी थिएन। रातभरीको पानीको ओभर फ्लोले माछालाई आफुसंगै बगाएर लगेछ। अत्तालिएर ट्यान्की वरपर भुइमा माछा खोज्न थाले र नभेटे पछि मन नमिठोपनको आभासमा कुडिएर आयो। अनि मलाई छक्क परेर हेरिरहनु भाको बाबा छेउ गएर रून थाले। अलिक पर हाम्रो बिरालो म तिर डराएझै गरि हेर्दै थियो।

कहिलेकाहि त्यो घटनालाई सम्झन्छु अनि आफैलाई सोध्छु,” मैले माछा भनेर घरको ट्यान्कीमा पालेको त्यो जीव भोलिपर्सी हेर्दाहेर्दै हातखुट्टा पलाएर भ्यागुताको स्वरूप धारण गरेको अवस्थामा मेरो हालत कस्तो हुन्थ्यो होला?”
यो चै पक्कै भन्छु कि स्वरूप जेसुकै भएपनी त्यसलाई माछा जत्तिकै माया गरेर पाल्ने थिए।चाहे पछि ठूलो भएपछी ट्यान्कीबाट उफ्रीएर आफ्नो बाटो नै किन नलागोस।

This entry was posted in Fiction/Non-Fiction. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *