अस्वीकृत मृत्यू ! – शान्ता लिम्बू

shantiघना जँगल भित्र,वरिपरि रूखहरुले घेरिएको,माझमा सानो चौरी जस्तो अलिकति खुल्ला भाग थियो।जहाँ मेरो शरीर लडिरहेको थियो। शरीर शान्त थियो,मलाई कुनै पीडा थिएन।म त्यहाँ कसरी आइ पुगेँ..! वा कस्ले मलाई ल्याएर छोडी दियो,? केहि स्मरण गर्न सकिनँ।

वरिपरिको स्थिति अवलोकन गर्ने कोशिस गरेँ,अन्धकार थियो। केहि परबाट पात पतिँगर भेला गरेर बालिएको आगोको मधुरो उज्यालो फैलिएको थियो।बाँकी सब चकमन्न…!

फेरि एकचोटी दिमागमा जोड लगाएर सोच्ने प्रयत्न गरेँ। खाली एउटै दृश्य मात्र मगजमा घुमीरह्यो। उज्यालो प्रकाशपुन्ज !! त्यो प्रकाश निमेष भरमै मेरो आँखाको ज्योतिलाई तिर्मिराउने गरि एकाएक विशालपिण्ड भएर आयो।त्यही उज्यालोमा मेरा सम्पुर्ण स्मृतिहरु विलिन भए।मेरो दिमाग अक्षर रहित सादा पाना झैँ भएका थिए, मैले केहि सम्झन सकिनँ ।

अचानक वरिपरि मानिसहरु बोलेको जस्तो गुनगुन आवाज सुनिन थाल्यो। शरीर मुढा लढे झैं शान्त र गति विहिन थियो। कान चनाखो पारेर सुन्ने अनि आँखा तेजिलो पारेर हेर्ने प्रयास गरेँ। त्यो अन्धकार रातको मधुरो उज्यालोमा बिस्तारै केही मानव आकृतिहरु सल्बलाउन थाले । उनीहरु मेरो शरीरलाई माझमा राखेर वरिपरि ठूलो घेरा हालेर टुक्रुक्क बसेका थिए।

केटाकेटी हुँदा गोलो घेरामा बसेर खेलिने ‘रुमाल लुकाइ’ खेलको सम्झना आयो। साथीले राखी दिएको रुमाल आफ्नो पछाडि छ भनेर थाहा नपाउनेलाई डुम भनिन्थ्यो र उसलाई घेराबाट निकालेर माझमा ल्याएर राखिन्थ्यो। मेरो अवस्था त्यही डुमको जस्तो थियो र ती अपरिचित मानिसहरु मेरो वरिपरि घेरा हालेर बसेका थिए ।

ती मानिसहरु सबै पुरुष थिए। उनीहरुको शरीरको माथिल्लो भागमा केही थिएन,कम्मरदेखि तल कछाड जस्तो सानो वस्त्र मात्र थियो।मलाई कुनै अँग्रेजी चलचित्रमा अफ्रिकी मुलुकका आदिवासी हरुको दृश्य हेरि रहेछु भन्ने भान भइ रहेको थियो।तर यो कुनै चलचित्र नभई यथार्थ थियो र त्यस्को एक पात्र म स्वयम् थिँए।

नियालेर हेरेँ,बलिरहेको आगोको छेवैमा ती सबै मानिसहरु भन्दा अझ हट्टाकट्टा,अग्लो र खाइलाग्दो एक जना ब्यक्ति रहेछन । त्यो ब्यक्ती उनीहरुका मुखिया जस्ता देखिन्थे।

मुखियाले हात उठाएर घेरामा बसेकाहरु मध्ये एकजनालाई आदेशात्मक ईशारा गरे। उनको हातमा एक बिटो भर्लाको पात थियो।उनले वरिपरि बसेका सबै मान्छेहरुको अगाडि एक एक पात ओछ्याउदै गए।मानौँ उनिहरु कुनै भोज खाने तयारी गर्दै थिए।

त्यस पश्चात मुखियाले सबैतिर अवलोकन गरे अनि आस्वस्त मुद्रामा, ‘ल अब शुरु गरौँ’ भन्ने आशयले टाउको हल्लाए।उनको हातमा एउटा धारिलो बन्चरो जस्तो औजार थियो।उनी आफ्नो ठाउँबाट जुरुक्क उठे र सिधै लम्पसार परेर लडेको मेरो शरीरलाई कसाहीले खसिलाई हेरे झैँ एकटकले हेर्दै सिधै म तिर अगाडि बढ्न थाले।

मेरो निस्प्राण शरीरमा विजुलीको करेन्ट लागे झैँ भयो,बल्ल चेतनाले काम गर्न थाल्यो। यिनिहरुले त मेरै पो भोज खान लागेका रहेछन भनेर सार्है भयभीत भएँ,मुटुको धड्कन छाती नै फुटेर बाहिर निस्केला झैं गरि जोड जोड्ले धड्किन थाल्यो।अनि बेस्सरी आमा !!! भनेर चिच्याउन पुगेँ।

मलाई सपनाबाट ब्यूँझे झै भयो।यसो चारैतिर नजर घुमाएँ । आफुलाई त्यो अनकन्टार जँगल,आदिवासीहरुको माझमा होइन अस्पतालको बेडमा सुतिरहेको पाएँ। मेरो नाक,मुख अनि शरीर भरी विभिन्न किसिमका तार,सुई एवम् विचित्र यन्त्रहरु जडान गरिएका थिए।दुईजना सेतो पहिरनमा नर्सहरु मेरो नाप जाँच गरि रहेका थिए।छेउको मनिटरले मेरो मुटुको धड्कन रेकर्ड गर्दै स्क्रिनमा धर्काहरु खरखरी दौडी रहेका थिए।टाउको,हातखुट्टामा पट्टि र प्लास्टर लगाइएको थियो।

फेरि सम्झने कोशिस गरेँ। दिमागमा त्यही विशाल प्रकाश पिण्ड भरिएर आयो।त्यस पछी क्रमश त्यो भयानक दुर्घटना जस्ले मलाई अस्पतालको बेड सम्म ल्याइ पुर्याएको थियो,चलचित्रको दृश्य झैं मेरो आँखा वरिपरि घुम्न थाल्यो।

बेलुकी दश बजे काम सकेर घर फर्कने क्रममा थकान र निन्द्राले चुर भएर एकोहोरो गाडी चलाउँदा साँगुरो घुम्तीमा अगाडीबाट आएको ट्रकलाई आफू नजिक आइपुग्दा मात्र देखेँ।तर सम्हालिन नपाउँदै तेजिलो हेड्लाईट बालेर त्यो भिमकाय दानवरुपी ट्रक मेरो गाडी सँग ठक्कर खाइ सकेको थियो। त्यही विशाल प्रकाश पिण्डको चकाचौँधमा म बेहोस हुँदै थिँए। अनि एक हप्ता पछी बल्ल मेरो होश खुलेको रहेछ।

 

“कथा” प्रस्तुत – शान्ता लिम्बू

This entry was posted in Fiction/Non-Fiction. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *