“विपत्तिले जन्माएको नाता” – शान्ता लिम्बू, बेलायत

shanti

 

सन २०१४ फेब्रुवरी महिनाको कुरा हो,म नेपाल बिदामा गएकी थिँए।भाउजूको पनि स्कुल बिदा भएकोले हामीले सिक्किम घुम्न जाने योजना बनायौँ। पहाडको काखमा अवस्थित अति रमणीय स्थल सिक्किममा हेर्न, घुम्न पर्ने कुराहरु धेरै थिए।तर समयको पावन्दीले गान्तोक वरिपरिको रमणिय स्थलहरुको मात्र भ्रमण गर्ने मौका मिल्यो। बाँकी ठाँउहरु पछि घुम्ने भनि चित्त बुझाउँदै हाम्रो अस्थाइ बासस्थान ‘डोमा गेस्ट हाउस’ एम जि मार्गबाट ट्याक्सी लिएर बसपार्क तर्फ लाग्यौँ।

बसपार्कमा निकै कुर्नु पर्‍यो, हामी जान लागेको जीपको ड्राइभर सिट पूरा नभए सम्म नजाने भन्दै अड्डी लिएर बसेका थिए। पुरै बिहान यात्रीहरुलाई पर्खँदै बित्यो। हामीले सिलीगुडीबाट अर्को बस लिएर धरान सम्म पुग्नु थियो,बाटो लामो थियो। त्यसैले हतार गरि रहेका थियौँ।

अन्त्यमा बाँकी रहन गएको एउटा सिटको भाडा हामीले तिरी दिने वाचा गर्दै ड्राइभरलाई गाडी चलाउन आग्रह गर्यौँ, निकै अबेर भई सकेकोले अब सिलीगुडी पुगि फेरि फर्केर गान्तोक आई पुग्न ढिला हुने भन्दै ड्राइभर ब्यग्र देखिन्थे, त्यही माथि आफ्नै एक सहकर्मीसँगको बिवादले तनावग्रस्त पनि भएका थिए। बल्ल तल्ल गाडीको चक्का अघि गुड्यो,हामीले सन्तोषको लामो श्वास फेर्यौँ।

पहाडी क्षेत्र भएकोले मोटरको बाटो निकै घुमाउरो थियो। धेरै जसो ठाउँमा सडक निर्माण कार्य भई रहेकोले बाटो ज्यादै नाजुक अवस्थामा थियो।  ड्राइभर भने यस्तरी गाडी हाँकी रहेको थियो कि मानौँ उ कुनै चिल्लो कालोपत्रे फराकिलो सडकमा हुइँकी रहेको थियो। मैले एक दुई पटक गाडी बिस्तारै चलाउन आग्रह पनि गरेँ।तर उनले सुने नसुने झैँ गरे।

हामी सिक्किमको प्रवेशद्वार रम्फुबाट बाहिरिएर सिम्ताङ भन्ने ठाँऊमा आई  पुगेका थियौँ।अचानक अगाडीको गाडीलाई ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आई रहेको कारलाई हामी चढेको जिपले ड्याम्म ठक्कर दिई नै हाल्यो। कार सन्तुलन हराएर हुत्तिदै बाटोको डीलमै पुग्यो।डील काटेको भए त्यो कार भीरबाट सिधै तल झर्ने थियो।  गाडीमा भएका सबै यात्रीहरु त्रसित भए। कोही भगवानको नाम जप्न थाले, म चाहिँ स्तब्ध भएर अक्क न बक्क परेर बसि रहेकी थिँए ।   दिमाग र शरीर दुवै शुन्य थियो, हलचल पनि नगरी अगाडी सिटको डन्डीमा जोड्ले पक्रन पुगेछु।  यात्रीहरु कसैलाई केही भएन, उता कारचालक अनी साथमा भएको अर्को मान्छे फुत्त बाहिर निस्केर हाम्रो  ड्राइभरलाई च्याप्पै समाते।तर कुट्न चाहिँ कुटेनन् य्येस पछि त हाम्रो बिचल्ली नै भइयो ।

ड्राइभरलाई सबै यात्रीहरुको भाडा फिर्ता गर्न लगाइयो अनी  ‘सिलीगुडी जाने बन्दोवस्त आफै गर्नुहोस् हामी यसलाई छाडदैनौ,अब प्रहरी छानबिन शुरु हुन्छ’ भन्दै उनलाई आफै सँग लिएर गए,; अब के गर्ने भनेर एकछिन त केही सोच्नै नसकी अलमल्ल पर्यौँ ।

संयोगबश भाउजूले अघिल्लो दिन हामीलाई गान्तोक घुमाउने ट्याक्सी ड्राइभर अनि टुरिस्ट गाइड भाइको फोन नम्बर राख्नु भएको रहेछ।उनलाई  फोन गरेर सबै बेलिविस्तार लगाइयो।  झन्डै एक घण्टा पछि  ती भाइ एकजना साथी लिएर आई पुगे, त्यतिबेला सम्म दिउँसोको करिब एक बजी सकेको थियो।  सिलीगुडी पुग्न मात्रै चार पाँच घण्टाको बाटो थियो,  त्यहाँबाट उता धरानको यात्रा बाँकी नै थियो र हामी बेचैन भई रहेका थियौँ;; ‘तपाईँहरुलाई सिलीगुडी सम्म पुर्याउने जिम्मा हाम्रो भयो,चिन्ता नलिनुहोला’ भनेर ती भाईहरुले भने पछि बल्ल ढुक्क भयौँ र अगाडीको हाम्रो यात्रा शुरु भयो ।
“फेरि पनि कुनै दिन सिक्किम  घुम्न आउनु भयो भने  भेटौँला ” ….

सुरेश कुमारको गीतहरुले सधैं दिदीहरुको याद गराउनेछ…..!

ड्राइभर भाइ मृदुभाषी, मिजासिलो र फर्साइलो स्वभावका थिए, कुराकानीको क्रममा ति भाईले आफ्ना बाजे नेपालको भोजपुर दिल्पाबाट आएको कुरा बताए; त्यसपछि   क्रमश आफ्नो स्कूलका दिनहरु देखि  लिएर उनको पहिलो प्रेम,अहिलेकी श्रीमती सँगको भेट,श्रीमती पेशाले शिक्षीका भएकी अनी सानी छोरीको जन्म भए सम्मको प्रसँग समेत जोडे।  हामी निकै चाख मानेर सुनी रहेका थियौँ, उनले अाफ्नो पहिलो प्रेम चाँहीँ अहिले सम्म पनि नभुलेका रहेछन्। अनी त्यही प्रेम सँग सम्बन्धित गायक तथा सँगितकार सुरेश कुमार क्षेत्रीको एउटा गीतको चर्चा पनि गरे।
त्यसपछी भने कुराकानीले अर्को मोड लियो,   म,भाउजु अनी ति दुवै भाइहरु नै सुरेश कुमारको ठुलो फ्यान भएको कुरो खुल्न आयो। भाउजुले सुरेश कुमारको सबै गीतहरु ट्याब्लेटमा डाउनलोड गर्नु भएको रहेछ; ! अनी ट्याब्लेटलाई गाडीको साउन्ड सिस्टममा जोडेर मजाले गीतहरु सुन्दै,कुराकानी गर्दै कती खेर सिलीगुडी आई पुगियो थाहै भएन;;; ति भाइहरुले हामीलाई नेपाल र भारतको सिमाना वरै  सम्म ल्याइ दिए,
अब छुट्ने बेला भइ सकेको थियो। तर यो छोटो सहयात्रामै हामीमा कति गहिरो आत्मीयता बसेछ …..; छुट्टिनु पर्दाको आभासले मन नमिठो भएको थियो,आफ्नै परिवारको कुनै सदस्य सँग छुट्टिनु परे झैँ नरमाइलो लागि रहेको थियो।उनीहरु पनि मौन थिए,शायद त्यो गर्हौँ अनि बोझिलो क्षणको अनुभुती उनीहरुलाई पनि भएको थियो होला।

ट्याक्सीको भाडा हातमा थमाइ दिदै कुनै दिन धरान घुम्न आउनु होला भनेर बिदा दियौँ,, उनीहरुले पनि “फेरि पनि कुनै दिन सिक्किम  घुम्न आउनु भयो भने  भेटौँला” ….सुरेश कुमारको गीतहरुले सधैं दिदीहरुको याद गराउनेछ;; भन्दै अन्तिम अभिवादन स्वरूप  हात जोडे… बिदाईको हात हल्लाउँदै ती भाईहरु हामीलाई हेरि रहेका थिए, हामी भने चुपचाप,गह्रौ पाईला लिएर धरान जाने  स्टप तर्फ अघि बढ्यौँ………… ।

This entry was posted in Article. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *