नेपालीको साझा पहिचान… – हाङयुग अज्ञात

iporter-rob-fraser-02

pic: Rob Fraser

“यहाँसम्म कि सतिदेवीको लास काँधमा बोकेर बहुलाएका महादेवजस्तै राजतन्त्रको लास बोकेर बहुलाउने काम (कथित) क्रान्तिकारी र प्रगतिशील नेताहरूबाट समेत भएको छ । ‘राजतन्त्रात्मक मार्क्सवाद’ सम्मको कल्पना गर्न भ्याइएको छ । नेपालमा असम्भव कुरा के छ र ? मान्छेको शरीरमा बोका र हात्तीको टाउको गाँसिएको आख्यान पढेरसुनेर हुर्किएका जो छौं हामी ।”

 

दस वर्षे हिंसात्मक राजनीति त्यागी नेकपा माओवादी संसदीय राजनीतिमा आएको बेला मनमा लागेको थियो- अब देशले समृद्धि र उन्नतिको सुनौलो बाटो समात्नेछ । म सर्वसाधारण नागरिक हुँ र मजस्तै सर्वसाधारण नागरिकलाई यही लागेको हुनुपर्छ । खासमा माओवादीले हिंसा त्याग्नु सबैको जीत थियो । तर, तत्पश्चात् बन्दुकको गोलीले भन्दा नेताको बोलीले धेरै ध्वंस मच्चाइरहेको छ । फरक यति हो, गोलीले शरीर छेंड्छ तुच्छ बोलीले हृदय ।

 

लोकतन्त्रमा जनताको परिभाषा अझ साँघुरिएर आएको छ, दु:ख लाग्छ । जनता बाँदर भएका छन्, आँप भएका छन् । ब्रह्माण्डजस्तो छाती र सोच बोकेर हिँड्ने जनताहरू समेत दिग्भ्रमित भएका छन्, मनमा अनदेखा प्रश्नहरू बोकेर हिँड्न बाध्य भएका छन्- आखिर यो देशमा बारम्बार नेताद्वारा जनता किन अपमानित हुन्छन् ? किन जनतालाई ‘एग्रेसिभ’ बनाउने काम गरिन्छ ? किन जनतालाई विभाजित गरिन्छ ? नागरिक समाजको खोल ओढेर किन बस्छ ‘ब्राह्माणवाद’ ? के मधेसी, दलित र जनजाति नागरिक होइनन् ? अझै कति बोक्नु दल विशेषको बन्दुक, भाला, लाठी, झन्डा र झोला ? हामीलाई खेतमा काम गर्न किन दिदैनन् दलहरू ? हामीलाई कार्यालयमा किन खुरुखुरु काम गर्न दिदैनन् दलहरू ? किन बाँड्छ्न् आफूआफू करोडौं रुपियाँ राज्यकोषबाट ? किन स्वतन्त्र नागरिकलाई दुरुत्साहित गरिन्छ र दलको झोला बोक्न बाध्य पारिन्छ ? के जनताले सधैंभरि आन्दोलनमै जीवन बिताउनु पर्ने हो ?

 

“सन् १९८२ मा समाजशास्त्रीहरू जेम्स क्यू विल्सन र जर्ज एल एलिङले अपराधशास्त्रमा “ब्रोकन विन्डोज थेओरी” नामको सिद्धान्त प्रतिपादन र प्रस्ताव गरेका थिए जसको सहयोगबाट अपराधको न्यूनीकरणका साथै सामाजिक सुव्यवस्था कायम गर्न सकिने व्यहोरा छ । यो सिद्धान्तले भन्छ “यदि टोलमा एउटा घरको सिसा फुटेको छ भने भोलि अर्को घरको सिसा कुनै मान्छेले राति ढुङ्गाले हानेर फुटाउन सक्छ किनभने त्यो मान्छेले फुटिसकेको झ्यालबाट प्रेरणा प्राप्त गर्छ ।”

 

यो दस वर्षको अवधिमा हाम्रो देश र समाज झनै अल्मलिएको छ । देशका प्रमुख पार्टीहरूको सोच, अभिव्यक्ति र व्यवहार माओवादीले दस वर्षमा मच्चाएको हिंसाभन्दा पनि खतनाक भएको छ । तुच्छ र विवेकहीन अभिव्यक्तिहरूले समाजलाई झनै चिरा पार्ने काम गरेका छन् । तर, यसलाई दस वर्षे प्रत्यक्ष हिंसाकालको “आफ्टरसक”का रूपमा लिने गरेको छु । यो आफ्टरसकले उत्पादन गरेको विक्षिप्त मनोदशाको अन्त्य हुनै पर्छ ।

 

 

यहाँसम्म कि सतिदेवीको लास काँधमा बोकेर बहुलाएका महादेवजस्तै राजतन्त्रको लास बोकेर बहुलाउने काम (कथित) क्रान्तिकारी र प्रगतिशील नेताहरूबाट समेत भएको छ । ‘राजतन्त्रात्मक मार्क्सवाद’ सम्मको कल्पना गर्न भ्याइएको छ । नेपालमा असम्भव कुरा के छ र ? मान्छेको शरीरमा बोका र हात्तीको टाउको गाँसिएको आख्यान पढेरसुनेर हुर्किएका जो छौं हामी ।

भोलि मार्क्सवादको शरीरमा राजतन्त्रको टाउको गाँसिएका कम्युनिष्टहरू देखा परे भने अचम्म नमाने हुन्छ । तेसो त नेपालमा कम्युनिष्ट नै छैनन् भन्ने तर्कहरू पनि सुनिन्छ्न्, भारतका कम्युनिष्टजस्तै ती पनि ब्राह्माणवादमा पुगेर स्खलित भइसकेका छन् भनिन्छ । पूर्व राजाले चुनाव लड्नु र प्रधानमन्त्री या राष्ट्रपति हुनु नै समयको प्राकृतिक गति हो । कुनै बेला कमरेड मदन भण्डारीले राजावीरेन्द्रलाई श्रीपेच खोलेर चुनाव लड्न लल्कार्दा पररर ताली पड्काउने रातो कम्युनिष्टहरू अहिले गेरू रङ्गमा बद्लिएका छन् ।

 

राजनीतिले चर्काएको समाजलाई राजनीतिले नै जोड्नु पर्छ । यद्यपि जबसम्म हाम्रो सोच्ने तरिका ठीक हुँदैन तबसम्म जुनसुकै राजनीतिक व्यवस्था लागू होस् हाम्रो समाज विभाजित र द्वन्द्वरहीत हुन सक्दैन । म भन्छु हाम्रो चिन्तन प्रणालीमै समस्या छ । सेतोलाई कालो र कालोलाई सेतो बनाउन सक्ने महान् तर्कशास्त्रीहरू धेरै छन् तर एउटा असल दार्शनिक छैन, चिन्तक छैन, विचारक छैन जसले भत्किदैं गरेको नेपाली समाजलाई जोड्न सकोस् । दार्चुला र ताप्लेजुङलाई जोड्न सक्ने चिन्तनको खाँचो छ, मधेसी र पहाडीको मनोविज्ञानलाई गाँस्न सक्ने विचारधाराको आवश्यकता छ, जनजातिका सँस्कृतिहरू र हिन्दु सँस्कृतिलाई सङ्गै लान सक्ने विचार चाहिएको छ । महिला र दलितहरूको मनोबल उकास्ने, प्रोत्साहित गर्ने र समान मानवीय हैसियत दिने राजनीति चाहिएको छ । समग्र द्वन्द्वहरूको व्यवस्थापन गरेर समन्वय र मेलमिलापको नयाँ उज्यालो ल्याउन सक्ने विचारधारा चाहिएको छ । यो चुनौतीपूर्ण काम सडकमा टायर बाल्नु या जंगलमा बन्दुक पड्काउनु जस्तो सजिलो पक्कै छैन । यो काम तेस्ता युवाहरूबाट मात्र सम्भव हुने देखिन्छ जसले पुरानो पुस्ताको ‘स्कुलिङ’लाई प्रश्न गर्ने दुस्साहस राख्छ । उदाहरणका निम्ति काङ्ग्रेसबाट गगन थापा र विश्वप्रकाश शर्मासँग यो सम्भावना सुरक्षित छ । यस्ता युवाहरू कम्युनिष्ट पार्टीहरूमा त झन् प्रशस्तै हुनुपर्ने हो । माओवादीकेन्द्रले विश्वभक्त दुलाललाई कुन कुनामा थन्क्याएको छ ?

हाम्रो समाजलाई पछि पार्नमा मुलुकी ऐन-१९१० जिम्मेवार हुँदै हो, यसमा कसैको पनि फरक मत नहोला । अहिले समाजमा देखिएका विभेदका रङ्गहरू तेसैका तरङ्गहरू हुन् । उक्त मुलुकी ऐनमा ‘उपाध्ये’ ब्राह्मणलाई राज्यले सर्वोपरी सुविधा र अधिकार दिएको देखिन्छ । शुद्र, अछुत या पानी नचल्ने जात(दलित)लाई सबैभन्दा धेरै सजाय या करिब अधिकारविहीन नै बनाएको देखिन्छ । नमासिने जात या जनजातिको हकमा दलितलाई भन्दा अलिकति धेरै सुबिधा दिइएको पाइन्छ । सबै नेपाली भइकन पनि कानुनमै तेस्तो विभेद लेखिएपछि झोंक चल्ने नै भयो, तर झोंकलाई रचनात्मक शक्तिमा परिवर्तन नगरी सुख छैन । हाम्रा पुर्खाहरूले गरेका गल्तीहरू हामीले दोहोर्‍याउनु हुँदैन भन्ने मेरो बुझाई रहेको छ । एकजना पहाडे युवा मधेस झरेर मधेसीहरूको पाउ छुँदै हिँडेको फोटो सामाजिक सन्जालमा केही वर्ष अगाडि देखेको थिएँ । हाम्रो समाजलाई जोड्ने यस्ता युवाहरूलाई आमसन्चारले अगाडि ल्याउन पर्छ । यस्ता युवाहरूको विचारलाई प्रोत्साहित गर्नु पर्छ । आमसन्चारले चाहेको स्थितिमा हाम्रो समाजलाई एक वर्षमै सहअस्तित्ववादी बनाउन सकिन्छ । जतिसुकै ठूला नेता किन नहुन् यदि उसले समाजको वातावरणमा उत्तेजना फैल्याउने र विखण्डन ल्याउने अभिव्यक्ति दिन्छ भने त्यो कदापि स्वीकार्य छैन । के सिङ्गो नेपाली समाजलाई हाँक्ने ल्याकत दलहरूसँग छैन ?
अहिले सर्वोच्चको प्रधानन्यायाधीश महिला हुनुहुन्छ । तर, उहाँलाई संसदको एउटा समितिले बयानको नकाब ओढेर यस्तो र्‍याख्र्‍याख्ती पारेको थियो मानौं “सुशीला कार्की ” नेपाली होइनन्, अर्कै ग्रहबाट आएकी ‘एलियन’ हुन् । बयानका नाममा पुरुषसत्ताको अहंकार देखिएको थियो । विभिन्न समिति र आयोगहरू मलाई नकाबजस्ता लाग्छन् । एउटा विशेष वर्ग, सम्प्रदाय र क्षेत्रको हितमा तेस्ता नकाबहरू प्रयोग हुने गरेका छन् । भर्खरैको प्रहरी महानिरीक्षक र राजदूत नियुक्तिकाण्डमा नकाबसम्म लगाएनन् । त्योभन्दा अगाडि करिब एक वर्ष सिनियर पार्वती थापा मगरलाई पाखा लगाएर उपेन्द्रकान्त अर्याललाई प्रहरी महानिरीक्षक बनाइयो । के पार्वती थापा मगर महिला थिइन् र प्रहरी महानिरीक्षक बन्न अयोग्य भइन् ? या जनजाति भएकैले उनलाई रोकियो । थापा मगरको मुद्दा अदालतमै छ तर तेस्तै मुद्दा प्रहरी महानिरीक्षकका दाबेदार सिलवालले लिएर आउँदा दुई दिनमा छिन्ने ? कस्तो खाले न्याय वितरण हो यो ? कानुनी राज्यमा न्याय क्षेत्रले “वायस” हुन मिल्छ र ?

 

युवाहरूमा रचनात्मक शक्ति हुन्छ । तर, पुरानो राजनीतिक संस्कारद्वारा उनीहरूको शक्तिलाई विखण्डन गर्ने काम हुँदै आएको छ । उनीहरूलाई उत्तेजित बनाउने काम भएको छ । युवाहरूलाई ‘फ्रस्टेसन’को यस्तो जंघारमा छोडिएका छन् कि उनीहरूमा देश र समाजप्रतिको जिम्मेवारीबोध नै हुन छोडेको आभास हुन्छ । केही वर्ष अगाडि हामीले देख्यौं प्रमुख नेताहरूलाई युवाले सरेआम झापड लगाए, कुर्सीले पनि हान्न खोजे । त्यो कुनै दल विशेषको नेतालाई हानिएको झापड थिएन, परम्परागत राजनीतिक संस्कारले खडा गरेको ‘ब्युँख्याचा’लाई हानिएको थियो । एउटा दलले अर्को दललाई गाली गर्नु, तुच्छ देखाउनु, होच्याउने अभिव्यक्ति दिनु, विरोधका नाममा नेपालबन्द गर्नु, एउटा दलले गरिरहेको सकारात्मक काममा अवरोध सिर्जना गर्नु, गुन्डागर्दीको आड लिनु, आफ्ना दलका कार्यकर्तालाई भत्ता आउने ठाउँमा भर्ती गर्नु, कर्मचारीतन्त्रलाई राजनीतिकरण गर्नु जस्ता राजनीतिक कुसंस्कारको विकासले युवाहरूमा ‘डिप्रेसन’ बढ्दो छ ।

 

सन् १९८२ मा समाजशास्त्रीहरू जेम्स क्यू विल्सन र जर्ज एल एलिङले अपराधशास्त्रमा “ब्रोकन विन्डोज थेओरी” नामको सिद्धान्त प्रतिपादन र प्रस्ताव गरेका थिए जसको सहयोगबाट अपराधको न्यूनीकरणका साथै सामाजिक सुव्यवस्था कायम गर्न सकिने व्यहोरा छ । यो सिद्धान्तले भन्छ “यदि टोलमा एउटा घरको सिसा फुटेको छ भने भोलि अर्को घरको सिसा कुनै मान्छेले राति ढुङ्गाले हानेर फुटाउन सक्छ किनभने त्यो मान्छेले फुटिसकेको झ्यालबाट प्रेरणा प्राप्त गर्छ । अन्ततोगत्वा टोलका सबै झ्यालहरू फुट्छ्न् र अपराध तथा सामाजिक अव्यवस्था हुर्किन्छ । अत: फुटेको झ्याल मर्मत गरिहाल्नु पर्छ ।“ यो सिद्धान्तले विशेषगरी शहरको व्यवस्थापनमा सकारात्मक प्रभाव पारेका नतिजाहरू प्रकाशित छन् । देशको राजधानी काठमान्डौंको अव्यवस्थाले हामीमा मानसिक र सामाजिक विचलन ल्याइदिएको छ । एउटा कुनामा एउटाले फोहर फ्याल्छ, त्यो देखेर अर्कोले फ्याल्छ । हेर्दाहेर्दै त्यहाँ फोहोरको पहाड उभिन्छ । धुलो र धुवाँ, हिलो र खाल्डो, ट्राफिक जाम, फुटपाथभरि लतारिएका टेलिफोनका तारहरू, बाटोमा थुक्दै हिँड्ने बटुवाहरू, अव्यवस्थित रूपले झुन्डिएका साइनबोर्ड र तुलहरू, भृकुटीमण्डपको ह्वास्सै गनाउने अँध्यारो सार्वजनिक शौचालय, घरिघरी सडकमा देखिने जुलुस र नाराबाजी, खुलामन्चमा दलले थुपारेको भीड आदिइत्यादि दृष्यहरूले हाम्रो मस्तिष्कलाई विचलित बनाउँछ र हामी सामाजिक अव्यवस्था सिर्जना गर्न अभिप्रेरित हुने गर्छौं । सरकारले काठमान्डौंलाई सफासुग्घर र व्यवस्थित राख्न सक्यो भने देशको आधा समस्या हल हुने पक्का छ । भर्खरै काठमान्डौं लोडसेडिङ मुक्त भएको छ, यसले सकरात्मक प्रभाव पारिरहेको छ । तर, यसैक्रममा टान्सफर्मरमा आगो लगाइदिने, बिजुलीको खम्बा ढालिदिने जस्ता घटनाहरू पनि घटाइएका छन् । यस्तो तुच्छ हर्कतबाट मुक्त हुन जरुरी छ । हर्न बजाउन नपाउने नियम पनि सुन्दर निर्णय हो, यसले काठमान्डौंको ध्वनी आतङ्क हटाएको छ । न्युयोर्क र हङकङजस्ता ठूला शहरहरूले “ब्रोकन विन्डोज थ्योरी” अनुसार सुव्यवस्था कायम गर्दै आएका छन् । विशेषत: रेल स्टेसन र पुराना टोलहरूमा यो सिद्धान्तलाई लागु गरिएको पाइन्छ । यो सिद्धान्त अनुसार सरकारले काम गर्ने हो भने ५ वर्षमा काठमान्डौं एसियाको विश्वशहर बन्छ । भत्केका र अव्यवस्थित संरचनाहरूले आम मानिसलाई रचनात्मक प्रेरणा दिदैंन भन्ने कुरा मनोवैज्ञानिकहरूले पनि बताउने गरेका छन् ।
उहिले म, राजन मुकारूङ र उपेन्द्र सुब्बा भएर “साझा नेपाली पहिचान”को वकालत गरेका थियौं । अहिलेको परिस्थितिमा यो विचारधारा झनै सान्दर्भिक भएको छ । हाम्रो जिकिर थियो नेपालमा भएका साँस्कृतिक वैविध्यहरूको योगफल नै नेपाली सँस्कृति हो, नेपालमा भएका अनेकन् जातीय पहिचानहरूको सम्पूर्णता नै नेपाली जातिको पहिचान हो । एक सँस्कृति विशेष र एक जाति विशेषको कुरा होइन । कुनै समुदाय र वर्गलाई वर्जित गर्दा साझा नेपाली पहिचानको स्थापना हुँदैन ।

नेपालको आजको दुर्दशामा शासक वर्गहरूलाई जिम्मेवार ठहराइन्छ भने यसको जिम्मा किरातवंशले पनि लिनु पर्छ । ख्रीष्टपूर्व ५०० तिर किरात सरदार यलुङले नेपाल जितेका थिए र करिब १२ सय वर्ष किरातवंशले नेपालमा शासन गरेका थिए भन्ने इतिहासमा लेखिएको छ । उनै किरात सरदार यलुङ प्रथम किरात राजा यलम्बर कहलिए । त्यो बेला चीनले कन्फुसियसजस्तो दार्शनिक जन्माएको थियो, ग्रीसले होमर जस्तो कवि जन्माएको थियो भने भारतले वाल्मिकी र वेदव्यासजस्ता कविहरू जन्माएका थिए । किरातवंशको नेपालले किन जन्माउन सकेन कुनै कवि या दार्शनिक ? तेसकारण मलाई लाग्छ आधुनिक नेपालको रचना गर्ने किरातहरूले दोष अरूलाई मात्रै दिएर पन्छिने कुरा आउँदैन । तर्क गर्न सकिएला हाम्रा पुर्खाले निर्माण गरेको साँस्कृतिक र प्रशासनिक प्रणाली लिच्छविवंशले ध्वस्त गर्यो । तर, मलाई लाग्छ हिजोका गल्तीहरू नेपालीले नै गरेका हुन् । आज जस्ले गल्ती गर्दै छन् ती पनि नेपाली नै हुन् । यो बेला हामी युवाहरूको काँधमा समयले ठूलो जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारी भनेको चर्किदै गएको नेपाली समाजलाई जोड्ने जिम्मेवारी हो ।
नेपालको इतिहासमा पृथ्वीनारायण शाहको जति महत्त्वपूर्ण योगदान छ, किरातवंशका प्रथम राजा यलम्बरको उति नै महत्त्वपूर्ण योगदान छ । ऊनी किरातका मात्रै राजा होइनन् सबै नेपालीका राजा हुन् । उनले उपत्यकामा नेपालको आधुनिक शासन व्यवस्था सुरु गरेका थिए । किरात शासनकालमै गौतम बुद्ध र सम्राट अशोक नेपाल आएका थिए । हामी सबैले नेपाल बनाउन योगदान गरेका छौं । तेसकारण हाम्रा सबै तर्कहरू सामाजिक सहिष्णुता र साझा नेपाली पहिचानका निम्ति हुनु पर्दछ । साझा नेपाली पहिचान भनेको सर्वजातीय पहिचान हो । ब्राह्मण मात्रै सर्वेसर्वा हुनुपर्छ या राईलिम्बू मात्रै सर्वेसर्वा हुनुपर्छ भन्ने धारणा जातिवाद हो, यस्तो धारणाले समाजलाई विखण्डनतिर धकेल्छ । राज्यले सबै जातजातिलाई समान रूपले फल्नेफुल्ने अवसर प्रदान गरेको अवस्थामा मात्रै “साझा नेपाली पहिचान”को स्थापना हुनेछ ।

 

कहिलेकाहीँ म सोच्ने गर्छु – नेपालका ब्राह्मण र भारतका ब्राह्मणमा फरक के छ ? नेपालका ब्राह्मणले नेपाली भाषा बोल्छन्, भारतका ब्राह्मणले हिन्दी या अन्य भाषा बोल्छन् । योभन्दा अर्को फरक के छ ? शास्त्र तेही हो, भगवानहरू तीनै हुन् । परम्परागत ब्राह्मणले आफूलाई जन्मले नै उच्च जातका ठान्छन् । क्षेत्री, वैश्य र शूद्रभन्दा आफूलाई चतुर मान्छ्न् । यस्तो ‘सुपेरियर सोच’ यहुदीहरूमा पनि पाइन्छ । उनीहरूलाई भगवानले संसारमा शासन गर्न पठाएको अरे । हिटलरलाई यहुदीहरूको यस्तो सोचले जन्माएको थियो ।
क्रीस्चियनहरू अन्य धर्ममा आस्था राख्नेहरूलाई सैतान ठान्छन्, गजब छ । कुरानमा येशु ख्रीष्टलाई ‘काला जादुगर’का रूपमा दर्शाइएको छ । धर्मशास्त्रहरूले आफूलाई बाहेक अरुलाई राम्रो भन्न जानेनन् । किराफट्याङ्ग्रा र रूख पातहरूप्रति दयामाया जगाउने कुरा गर्छन् तर मान्छेप्रति अनुदार देखिन्छन् । मलाई लाग्छ ‘स्कुलिङ’ गलत छ, समस्या यहीँनेर छ, करेक्सन गर्नै पर्छ ।

सबै धर्मशास्त्र र मिथकहरूले ब्रह्माण्डको उत्पत्ति बारे एउटै कुरा गरेका छन् । कसैले राम्रो शैली र शिल्पमा, रूपक र उपमाहरूमा व्याख्या गरेका छन् । फरक यत्ति नै हो । मैले बारम्बार भन्ने गरेको छु नेपालका हिन्दु र गैरहिन्दुहरूले माण्डुक्य, केन, कठोपनिषद जस्ता उपनिषदहरू पढ्न जरुरी छ । हिन्दुदर्शनको गुदी यी उपनिषदहरूमा पाइन्छ । यसमा पाइने दर्शन यति गहिरो छ कि घरीघरी मलाई लाग्छ हामीले त्यहाँबाट मह झिक्न सकिरहेका छैनौं । हिन्दुहरूले पनि मुन्धुम पढ्नु आवश्यक छ । अस्ति पोखराको लिटरेचर फेस्टिवलमा मुन्धम साहित्य बारे बैरागी काइँला र भूपाल राईका साथमा बसन्त बस्नेतले एउटा सेसन चलाएका थिए । यस्ता कार्यले समाज जोडिन्छ, हामीले समाज जोड्नु पर्छ । वर्णाश्रमलाई हिन्दुधर्मको आत्मा मान्ने भूल गर्नु हुन्न । हिन्दुधर्मबाट ठूलो र सानो जातको विभाजन हटाउने हो भने बौद्ध धर्म(दर्शनविज्ञान)जस्तै हिन्दु धर्म पनि विश्वको उत्कृष्ट धर्म(दर्शनविज्ञान) बन्न सक्छ । बाइबलमा उपनिषदमा जस्तो दर्शन छैन, मलाई त वंशावली जस्तो लाग्ने गर्छ बाइबल पढ्दा ।

तर हामीले धर्मशास्त्रका रूपमा पढ्ने गरेको रामायण र महाभारत महाकाव्य हो, साहित्यिक कृति हो । यो कुरामा प्रष्ट हुन जरुरी छ । रामायण र महाभारत होमरकृत महाकाव्यहरू इलियड र ओडिसीसँग मिल्छ्न् । हब्बल दुरबिनबाट वैज्ञानिकहरूले देखेको ‘बिग ब्याङ’ र अस्ट्रेलियाका आदिबासीहरूले गीतमा गाउने सृष्टिको उत्पत्ति मिल्छ्न् । हामी सबै एउटै भाँडोभित्र छौं । कसैले भौतिक विकास चाँडो गर्‍यो, अलग कुरा तर हामी सबैको पुर्खा मुसा हो । डायनोसर लोप भएपछि मुसाबाट बाँदरको विकास भएको मान्छ्न् जीव वैज्ञानिकहरू ।
नेपाल हामी सबैको हो, नेपाललाई समृद्धि र उन्नतिको बाटोमा हिँडाउने जिम्मा पनि हामी सबैको हो । ब्राह्मण कुलमा जन्मेकाहरूको बुद्धि धेरै हुन्छ, दलित र जनजातिको बुद्धि थोरै हुन्छ भन्ने कुरा हिजोको हो । ज्ञान र सूचना अब सबैको पहुँचमा छ । तेसोर राज्य निर्माणमा सबैको सहयोग लिनु जरुरी छ । कसैलाई पनि वर्जित गर्नु हुन्न । भत्किदै गएको समाज र विथोलिदै गएको सहिष्णुतालाई हामी युवाहरूले सम्हाल्नु पर्छ, ट्रयाकमा ल्याउनु पर्छ । नेपाली समाजमा हर्कबहादुर गुरुङ र डोरबहादुर विष्टहरू जन्मिरहनु पर्छ । ज्ञानको आदानप्रदान भइरहनु पर्छ । ज्ञानको कुनै जात हुँदैन, दल हुँदैन, गुट हुँदैन । मलाई लाग्छ ज्ञानको कुनै राष्ट्र या भूगोल पनि हुँदैन । हामीले मार्क्सवाद, लेनिनवाद, समाजवाद, प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र, गणतन्त्र सबै बाहिरबाट ल्याएका हौं ।

बाहिर राष्ट्रवादका चर्का नारा लगाउँदै भारत र नेपालको सीमानामा काँडेतार लगाउन अभियान चलाउने तर भित्रभित्रै भारतीय राजदुतावास धाउने दोहोरो चरित्रले हाम्रो समाजमा विग्रह र अशान्तिलाई मात्रै बढावा दिदैं आएको छ । कसैलाई फिलिम चलाउनु छ राष्ट्रवादका नाममा कुर्लिने, कसैलाई पपुलिस्ट हुनु छ घुँडासम्म जिब्रो झुन्डिने गरी राष्ट्रवाद भनेर चिच्याएको छ । उनीहरू नै फेरि दिल्ली जान्छन्, ढोग्छ्न् । खासमा नेपालका दलहरूसँग राष्ट्रवाद बारे प्रष्ट धारणा नै छैन । गजब त कतिखेर लाग्छ भने जाजरकोटमा जनता झाडापखालाले मरिरहेका हुन्छन् तब तथाकथित राष्ट्रवादीहरू राज्यकोषबाट करोडौं लिएर स्वास्थ जाँच गर्न बैंकक र अमेरिका पुग्ने गर्छन् । कस्तो लोकतन्त्र ?

अन्त्यमा, नेपालका जनजाति र दलितहरूमा दुइवटा विचारधारा विकसित भएको देखिन्छ । एउटा विचारधारा बुकर टि वासिङ्टनले काला जातिको मुक्तिको लागि लिएको विचारधारा जस्तो देखिन्छ । उनका अनुसार राजनीतिक अधिकारको सट्टामा गोरा जातिको सहयोगबाट काला जातिको आर्थिक र शैक्षिक विकास गर्ने । दोश्रो विचारधारा डब्लुइबि डुबोइसले काला जातिको मुक्तिको लागि लिएको विचारधारा जस्तो देखिन्छ । उनका अनुसार काला जातिको मुक्ति तब मात्र हुन्छ जब कालाहरूले पनि गोराहरूले झैं समान नागरिक अधिकार र राजनीतिक प्रतिनिधित्व पाउँछन् । नेपालमा चलिरहेको पहिचानवादी आन्दोलन डुबोइसको विचारधारा नजिक देखिन्छ । तर, मेरो मनमा प्रश्न उठ्छ- के अमेरिकन मोडलको आन्दोलनले हाम्रो नेपाली समाजको विविधतालाई सम्बोधन गर्न सक्ला ? यदि सम्बोधन गर्न सक्दैन भने “साझा नेपाली पहिचान” बारे विमर्श गर्ने हो कि ?

hangyug

लेखक: हाङयुग अज्ञात

This entry was posted in Article, Featured. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *