दस हजार बुद्ध भेटेपछि – हाङयुग अज्ञात

received_1152493188187339

मैले कहिले सोचिनँ जिन्दगी यति सुन्दर हुन्छ । यति निर्मल हुन्छ । यति सफेद हुन्छ । बुद्ध हुन जो कोहीले सक्ने रहेछ । आज यही अनुभूतिले आनन्दित भइरहेको छु । हरेक मान्छेले आफूभित्रको रित्तोपन महशुस गर्न सके संसारमा दु:ख नै हुँदैन । तर आफूभित्रको रित्तोपनसँग डराउँछ आम मान्छे ।

कुवाबाट फुत्केर जब भ्यागुतो महासागरमा पुग्छ त्यो नै बुद्धत्व हो, इन्लाइन्टेन्मेन्ट हो । तर कुवाको भ्यागुतो महासागरमा पुग्नु प्राय असम्भव नै हुन्छ । किनभने कुवाबाट उफ्रेर त्यो भ्यागुतो खोल्सो पुग्नु पर्छ खोल्सोबाट खोलामा पुग्नु पर्छ । खोलाबाट नदीमा पुग्नु पर्छ । अनि नदीको लामो यात्रा तय गर्नु पर्छ । यसरी महासागरमा पुगिहाले पनि कुवाको भ्यागुतो महासागरको विशालता देखेर छक्कै परेर भुँडी फुटेर मर्छ अरे । कति भ्यागुतोको जिन्दगी कुवामै बित्छ, कति भ्यागुतो खोल्सो पुगेर बित्छ, कति खोला पुगेर बित्छ, कति नदी पुगेर बित्छ । थोरै छन् महासागर पुगेर बाँच्नेहरू भ्यागुतोहरू । म यतिबेला महासागरको किनारामा उभिएको छु । कुवा, खोल्सा, खोला र नदीका यादहरूले फुट्न खोज्छु तर अगाडिको महासागरको विशालता देखेर रोकिन्छु । रोकिनु, थामिनु या स्थित हुनु बुद्धत्व प्राप्ति नै हो ।

दस हजार बुद्ध ! अरे वाह ! हाँसिरहेको बुद्ध, नाचिरहेको बुद्ध, रोइरहेको बुद्ध, सोचिरहेको बुद्ध, सुतिरहेको बुद्ध, कुदिरहेको बुद्ध, उफ्रिरहेको बुद्ध, बसिरहेको बुद्ध, रिसाइरहेको बुद्ध, चिच्याइरहेको बुद्ध, बोलिरहेको बुद्ध, आदि अनेकौं बुद्धहरू देखेपछि बुद्धको एउटा भ्रम टुट्यो । बुद्ध एउटै हुन्छ भन्ने भ्रम टुट्यो । कति सुन्दर अवधारणा ! दस हजार बुद्ध देखेपछि ठूलो र सानो बुद्धको प्रतिमा फिका लाग्न थालेको छ । कति अबेर गरें यति बुझ्न ।

माछालाई पानीभित्रको संसार नै सत्य हो । त्यो बाहेक अर्को संसार उसको लागि छैन । कुनै एउटा माछाले पानी बाहिर पनि संसार हुन्छ, दुई खुट्टाले हिँड्ने प्राणी हुन्छ, उनीहरूलाई सास फेर्न पानी चाहिन्न भन्यो भने त्यो माछालाई अरू माछाले ‘पागल’ भन्छन् । तेस्तै अर्को संसारको अनुभूति गर्ने मान्छेलाई सुरुमा त हामी पनि पागल भन्छौं । लक्ष्मीप्रसाद देवकोटाले अर्को संसार देखेका थिए, उसलाई पागल भन्यौं । कपर्निकसलाई पागल भन्यौं । विलक्षण कल्पनाशक्ति, सोच र चिन्तन भएका व्यक्तिहरू प्रचलित समाजको निम्ति पागल घोषित हुन्छन् । प्रचलित समाजको अँध्यारोमा बस्न नरुचाउने म पनि तेस्तै पागल हुँ । पागल हुनुमा गर्व लाग्न थालेको छ ।

एउटा कथा छ भ्यागुतो र खजुरोको । खोल्सामा पुगेको भ्यागुतोले खजुरोलाई दर्जनौं खुट्टाले हिँडिरहेको देखेछ । भ्यागुतोले सोचेछ- म चारवटा खुट्टाको तालमेल मिलाउन सकिरहेको छुइनँ, घरी भित्तातिर उफ्रिनु खोज्दा छेउतिर हुत्तिन्छु, घरी भुइँमा पछारिन्छु । यो दर्जनौं खुट्टा हुने खजुरोले कसरी आफ्नो चाल मिलाएको होला ? यस्तो सोचेर भ्यागुतोले खजुरोको बाटो छेकेर सोधेछ । तब खजुरोले भनेछ- यो बारेमा त मैले सोचेकै थिइनँ । पख है म सोचेर भन्छु । खजुरोले सोच्न थालेछ । सोच्दासोच्दै उसका दर्जनौं खुट्टाहरू एकआपसमा बटारिन पुगेछ र हिँड्नै नसक्ने भएछ । त्यसकारण कति कुराहरू सोचिरहन जरुरी छैन ।

मलाई लाग्छ बुद्ध हुनु भगवान हुनु होइन, दार्शनिक हुनु हो । दार्शनिक हुनु भनेको कवि भन्दा अलि माथिल्लो तह हो चेतनाको । कविले प्रश्न गर्छ, विस्मित हुन्छ, छक्क पर्छ । दर्शनमा पुगेर सबै प्रश्न टुङ्गिन्छ । दार्शनिक हुनु प्रकृतिसित जिउँदोमै एकाकार हुनु हो । तर दार्शनिकको चेतनामा पुग्नु सुरुमा कवि हुनु पर्छ । प्रश्न गर्नु पर्छ, विस्मित हुनुपर्छ, छक्क पर्नु पर्छ । तर, कतिपय दर्शनको उठान प्रश्नबाट भएको छ । जस्तो भागवत गीता । ग्रिकका स्रोक्रेटस पनि प्रश्नबाट सुरु हुन्छन् । फरक के त भन्दा गीता र सोक्रेटस प्रश्नमै टुङ्गिदैन ।

नाङ्गै सडकमा हिँड्ने सम्राटले बहुमूल्य र सुन्दर पोशाक लगाएको सबैले देख्छन् । तर, त्यो भीडमा एउटा बालकले नाङ्गै हिँडिरहेको सम्राटलाई नाङ्गै देख्छ । त्यो बालकमा कुनै दृष्टिभ्रम छैन । उसको मस्तिष्कले सत्यलाई आफू अनुकूल परिवर्तन गर्दैन । हामी बौद्धिकहरू नाङ्गो सम्राटलाई आफ्नै तर्कले पोशाक लगाइदिन्छौं । बुद्ध हुनु त्यो बालक हुनु पनि हो ।

एसपको एउटा कथा छ । एकजना व्यापारी भगवानको मूर्ति गधालाई बोकाएर बजारमा हिँडिरहेको हुन्छ । गधाको पिठ्यूँमा भगवानको मूर्ति देखेर बाटो छेउछाउका मान्छेहरू मूर्तिमा फूल बर्साउँछन्, मूर्तिमा निधार राखेर ढोग गर्छन् । तब गधाले सोच्दछ – अरे वाह ! मलाई कति सम्मान दियो मान्छेले । मेरो पूजा नै गर्‍यो । यो सोचेर मुस्कुराउँदै बिस्तारै हिँड्न थाल्यो गधा । आफ्नो गधा बिस्तारै हिँड्न थालेको देखेर मालिकले पछाडिबाट एक चाबुक लगायो । गधा तिरिङ्गै तर्सेर छिटो हिँड्न थाल्यो । हाम्रो अनुहारलाई मान्छेले सम्मान गर्दैन, हामीले बोकेको विचारलाई सम्मान गर्छन् ।
दस हजार बुद्ध भेटेपछि मलाई लाग्यो एउटा एउटा बुद्ध हामी सप्पैभित्र छ ।

This entry was posted in Article, Featured. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *