“ड्रागन बोट फेष्टिवल”:एक महान कवि प्रति श्रद्धा – किन्दर राई

 

qu yuan

कवि छु-युआन
परिचय:

अंग्रेजीमा “ड्रागन बोट फेष्टिवल ” भनेर सबै समुदायले चिन्ने गरिएको चाड चाइनिज समुदायमा निकै हर्षोल्लासका साथ मानिVदै आएको एउटा परम्परागत चाड हो । मुख्य भूमी चीन र ताइवानमा यस चाडलाई “तुवान वु चिए” (मेण्डरिनमा) भनिन्छ भने हङ्गकङ्ग र मकाउमा “त्युन् उङ् चित्” (क्याण्टोनिजमा) भनिन्छ । र यस दिन चिन, हङ्गकङ्ग, मकाउ र ताइवानमा सार्वजनिक विदा दिइने गरिन्छ ।

यस ड्रागन बोट फेस्टिवललाई पूर्वि एसियाका अन्य केही देशहरुमा पनि मनाउने गरिन्छ । जस्तो कोरियामा यसलाई “दोनो” नामले चिनिन्छ र मनाइन्छ भने भियतनाममा “तेत् दोअन् ङो” र जापनमा “कोदोमो नो ही” भनेर पुकारिन्छ, मनाइन्छ । यो चाड यी अन्य सबै देशहरुमा शुरुमा चीनबाट नै सिको गरेर भित्र्याइएको हो । चाइनिज पात्रो अनुसार यो चाइनीज वर्षको पाँचौ महिनाको पाँचौ दिनमा पर्दछ । यसकारण यसलाई दोहोरो पाँच (double fifth)को दिन भन्ने पनि गरिन्छ । अंग्रेजी महिनाको पात्रो अनुसार प्राय: यो जुन महिनाको पहिलो हप्ता देखी तेश्रो हप्ता भित्र पर्दछ । यस पटक भने मे महिनाको ३० तारिक मंगलबारको दिन परेको छ ।
ऐतिहासिक पृष्ठभुमी: ड्रागन को आकारको डुङ्गालाई समुन्द्रमा दौडाएर मनोरञ्जन लिइने भएकोले नै यसको नाम ड्रागन बोट फेष्टिवल रहन गएको हो । यसको अलवा यस अवसरमा खानेकुरहरु पनि विशेष किसिमले नर्कटको पातमा बेरेर डल्लो बनाइएको भात र चाइनिज रक्सी खाने गरिन्छ । मोटामोटी रुपमा यसरी नै मनाइने यस पर्ब भने “छु-युआन”(Qu Yuan)” नाम गरेका एक जना महान चीनिया कवि तथा समाज सुधारकको पुण्य स्मरणमा मनाइएको चाड हो । यसर्थ यी महान ब्यक्तिको बारेमा जानकारी लिनु सान्दर्भिक नै हुन्छ ।
क्राइष्ट जन्मनु भन्दा ३४० देखी २७८ वर्ष अगाडि “छु-युआन ”(Qu Yuan)” “छु ” राज्यका मन्त्री थिए । उनी साह्रै उदार भावनाका थिए । राज्यको सार्वभौमिकतालाई कसरी दिगो राख्न सकिन्छ भन्ने कुरामा अत्यन्तै चिन्तित थिए । त्यसताका छिन राज्यको अरु राज्य प्रतिको ब्यवहार हेपाहा र धम्कीपुर्ण किसिमको थियो । यस्तो अवस्थामा छु-युआन सधै सबैसँग मैत्रीपूर्ण भावनाले काम गर्न चाहन्थे । तर छु राज्यका राजा यस्तो सदबुद्धि भएका थिएनन् । छु-युआन सँग भित्र भित्रै जलेका भ्रष्ट मन्त्रीहरुको लहै लहैमा लागेर राजाले झुठा आक्षेप लगाएर उनलाई देश निकाला गरि दिए । त्यसपछि उनी आफ्नो घर आए । आफ्नो जन्मथलोको बसाईको क्रममा उनले पुराना लोक कथाहरुको खोजी गरेर तिनीहरुलाई भेला गर्न थाले । यसको साथै आफूले लयबद्ध रुपमा लेखेका कविताहरुको ब्यवस्थापन गर्न थाले । यसै क्रममा उनले आफ्नो राज्य प्रतिको गहिरो माया र यसको भविष्य प्रतिको चिन्तालाई लिएर कविताहरु लेखेर चिनिया साहित्यलाई उच्चकोटिको कविताले धनी बनाए । कविता लेखनमा छु युआनले ल्याएको महत्वपुर्ण क्रान्ति भनेको कविता लेखनको लिसाओ तरिका हो । यस अनुसार पुरानो परम्परागत चाइनिज कविता लेखनमा चार क्यारक्टरको गद्य लेखनलाई छाडेर आफु खुसी जतिसुकै लामो रुपमा पनि लेख्न सक्ने परम्परा बसाउनु हो । यसपछि नै चाइनिजमा पनि सरल र सहज रुपमै राम्रा राम्रा कविता लेख्न सकिने अवस्था सृजना भयो । खासमा भन्ने हो भने छु-युआनलाई एउटा सशक्त रोमान्टिक कविको रुपमा चिनिन्छ । चाइनिज साहित्यमा उनको नाम ताङ्ग शासनकालीन प्रसिद्ध रोमान्टीक साहित्यकारहरु लि-पेइ र तु-फु को समकक्षमा लिइन्छ ।
आफ्नो देश प्रतिको चिन्ताले छु-युआन लाई अति कमजोर बनाउदै लग्यो । अत्यन्तै चिन्ता र तनाव भएको बेला उनी गाउँको नजिकै भएको एउटा इनारमा गएर हेर्ने गर्दथे । त्यहाँ उनले आफ्नो छायाँ देख्दथे । त्यसबेला आफुलाई अत्यन्तै दुब्लो पातलो र रोगी पाउँदथ्यो । यसले उनलाई अझ निरस र उदास बनाउँथ्यो । भनाई छ यस इनारलाई त्यस पछि “अनुहार परावर्तन गर्ने इनार”अर्थात “अनुहार देखिने इनार” भन्न थालियो । हुबेइ प्रान्तको “शियाङ्ग लु पिङ्ग” भन्ने ठाउँमा अझ पनि एउटा इनार छ त्यस इनारलाई छु-युआनको पाला देखिको वास्तविक इनार हो भन्ने भनाइ रहेको छ ।
क्राइष्ट जन्मनु भन्दा २७८ वर्ष अगाडि छु-युआनको देशको राजधानी “यीङ्ग” मा छिन देशको जनरलले कब्जा जमायो । यो खबर सुनेर छु-युआनले एउटा लामो दुखान्त कविता लेखे । “यीङ्गको लागी शोक नाम गरेको कविता लेखे पछि आफूलाई आजभोलिको हुनान प्रान्तमा रहेको मिलोउ मा हेली दिएर आफ्नो इहलिला समाप्त गरे । भ्रष्ट शासकहरुको लागि गरिएको यस आत्मा हत्यालाई धार्मिक आत्मा हत्या भनियो । र आजभोली पनि त्यहाँ एउटा ठुलो ढुङ्गा राखीएकोछ जस्ले भ्रष्टाचार विरुद्धको आत्महत्या भनेर संकेत गरेकोछ ।
ड्रागन बोटको शुरुवात:

dragon festival
यसरी एउटा महान ब्यक्तिले आफूलाई नदीमा हाम्फालेर आत्महत्या गरेको कुरा थाहापाएर गाउँलेहरु उनलाई बचाउनका लागि भेला भए । डुङ्गामा चढेर उनको शरिरलाई जताततै खोजी गर्न थाले र खानाको लागि भनेर भातको डल्ला नदीमा फाल्न थाले । माछाहरु र अन्य प्रेतात्माहरु उनको शरिरको नजिक नआऊन भनेर डुङ्गा खियाउने बहाना र खुट्टाहरुले पानीलाई छ्याप छ्याप गर्न थाले र जोरजोरले ढोल बजाउन थाले । अन्तत उनीहरुले छु-युआनलाई उदार गर्न सकेनन् । एक राति उनको आत्माले एउटा साथीको सपनामा आएर भन्यो “म नदीको ड्रागनको कारणले मरेको हुँ, र मलाई भात दिंदा रेशमको कपडामा तीन कुने पोका पारेर दिनु जस्ले गर्दा ड्रागनले खान सक्दैन ।” यस पछि यो पोका पारेको खानाले परम्पराको रुप धारण गर्यो । तर आज भोलि यसलाई रेसमको टालोमा होइन नर्कट वा बाँसको पातमा पोका पारेर खाने चलनछ । यसरी एकजना नदीमा हामफालेर आत्माहत्या गरेका महान कवि तथा समाज सेवकको लासको खोजीमा दौडाइएको डुङ्गाबाट आज ड्रागन बोट दौडको चाड र खेल स्थापित भएकोछ ।
भातको डल्ला:

Chinese-Holiday-Offices-Closed-for-Dragon-Boat-Festival-2016-3
वर्षा ऋतु लागेपछि चाइनिजहरुको महत्वपुर्ण खाजाको रुपमा यो पोका पारिएको भातको डल्लाले पनि प्रमुख स्थान पाउँछ । अरुबेला पनि खाने चलन नभएको त होइन तर यो बेला यसैसँग सम्बन्धी चाड ड्रागन बोट फेष्टिवल पनि पर्ने भएकोले यसले विशेष महत्व पाउँछ । घर-घरमा यस्ता परिकार बनाइन्छ । आफन्तजनहरुलाई बाँडिन्छ । पसलहरुमा पनि यो समयमा यस्ता परिकार निकै बिक्री हुन्छ । हेर्दा भात जस्तो देखिए पनि स्वादिलो र गुणस्तरिय बनाउन भातको माझामा सिमी, खजुर आदिको पीठोको माड राखिएको हुन्छ । भातलाई महसँग मुछिएको हुनाले यो निकै च्याटच्याटिलो र गुलीयो स्वादको हुन्छ । त्यसैले यसलाई अंग्रेजीमा Glutonous Rice भनिन्छ । यसमा राखिने चीज बिजहरु अन्य फरक किसिमका पनि हुन सक्दछन । जस्तो यसभित्र बदाम, बोडि, मासु, नुनहालेर सुकाइएको सुंगुरको सपेटा, अण्डाको पहेलो भाग आदि पनि राख्ने गरिन्छ ।
उपसंहार:

चाइनिज लोक कथामा आधारित ड्रागन चाइनिजहरुको लागि पानीमा शासन गर्ने देवता हो जस्को मुखबाट आगोको ज्वाला निस्कन्छ । ड्रागन बोट चाड वा दौडमा प्रयोग गरिने बोटको टाउको र पुच्छर ड्रागनको जस्तो स्वरुप बनाइएको हुन्छ । यसको अगाडिको भागमा एउटा ठूलो ढोल राखिएको हुन्छ । यसको साथमा एकजना ढोल बजाउने मान्छे रहेको हुन्छ । करिब १० मिटर लामो डुङ्गामा दायाँ बायाँ गरेर २०/२२ जना बहाना चलाउने मान्छेहरु रहेका हुन्छन । यसको पुच्छरमा एकजना डुङ्गाको लक्ष दिशा नियान्त्रण गर्ने मान्छे बसेको हुन्छ । जब डुङ्गा चलाउने संकेत हुन्छ तब जोर-जोरसँग ढोल बजाउन शुरु गरिन्छ । यही ढोलको तालमा बीस बाइस जनाले एकैसाथ डुङ्गालाइ बहाएर अगाडि बढाउँदै सबैलाई जित्ने प्रयत्न हुन्छ । आम रुढिवादी सोचाइ के रहेको छ भने जब यस बोटलाई पानीमा सयर गराइन्छ तब त्यो पानी पवित्र हुन्छ । यसकारण बाँकी वर्ष स्वास्थ्य रहन सकिन्छ भन्ने विश्वासमा यस पानीमा नुहाउने गरिन्छ । आजभोलि ड्रागन बोट दौड अन्तराष्ट्रिय प्रतियोगिताको रुपमा विश्व ब्यापी रुपमा अपनाउन थालिएकोछ ।

यसरी एउटा महान कवि तथा समाज सुधारकको पुण्य स्मरणमा स्थापना भएको यस चाडले चाइनिज समुदायमा मात्र होइन अन्य सबै समुदायलाई आकर्षण गरेको छ । हाल आएर यो प्रतियोगीता अमेरिका, क्यानाडा, अष्ट्रेलिया, बेलायत तिर पनि लोकप्रिय बन्दै गएको छ । यसरी यसले अन्तराष्ट्रिय रुप धारण गर्नुका साथै ओलम्पीक प्रतियोगीतामा पनि प्रबेश पाउने सम्भावना रहि सकेकोछ । यही चिनीया चाड “त्युन्-उङ्-चित्” को अवसरमा हामी पनि एक महान कवि तथा समाज सुधारक छु-युआन प्रति श्रद्धा सुमन अर्पन गरौं । अस्तु: ।
(द्रष्टब्य: यस चाडको अवसरमा हङ्गकङ्गको शातिन र स्टेन्लेमा ड्रागन बोट दौड प्रतियोगता हुने गरेको छ जहाँ हजारौ देशी बिदेशी समावेश भएको सयौं टिमले भाग लिने गर्दछन् । सार्वजनिक विदाको यस दिन तपाईं पनि सपरिवार डुंगा प्रतियोगिता हेर्न जाने कि? )

 
किन्दर राई
जुन ६, २००८ कजवे-बे हङ्गकङ्ग

This entry was posted in Article, Featured. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *