अम्बरका दुश्मनहरु! – रबिन बान्तावा खाहोङ राई

shaba

बिते बुढा , बित्नै मात्रै त बाँकी थयो । ६० वर्षभन्दा बढि नेपाली संगीतको लागि योगदान दिए तर जिन्दगी डेरामै काटेर बिताए । उनको बाउको घर त दार्जिलिङमा थियो नि,छोडेर आए नेपाली संगीतमा केही गर्नलाई । राजाले ससम्मान बोलाएको मान्छे – एक बिन्तिमा एउटा महल त पाइहाल्थे तर एउटा सर्जकको स्वभिमानले त्यसो गर्न दिएन । बरु डेरैमा गुजारा गरिदिए, बालबच्चा कसरी हुर्के त्यसको हेक्का सम्म भएन रे – जन्मिने सबैले आफ्नो भाग लिएरै जन्मेका हुँदारहेछन् । उनले माग्न जानेनन्, उनले जितेका प्रशंसकहरुले उनको लागि बोलिदिए, सरकारलाई चिमोटिरहे, अम्बरले केही भनेनन् ।

अम्बरको संगीत ज्ञानको अगाडि उनका वैरीहरु पनि नतमस्तक हुन्छन् तर उनलाई छिर्के हान्न छोड्दैनन् । को हुन् त उनका वैरी? पुराना पुस्ताका दार्जिलिङेहरु! जो अम्बर गुरुङ नेपाल पसेकोमा पलायनवादी भन्दथे । नयाँ पुस्ताका दार्जिलिङेहरु जो नेपालसँग आफ्नो नाम कतै नजोडियोस् भन्ने चाहन्छन् , प्रवासी नेपाली भन्ने कुराले उनीहरुको राजनैतिक स्वार्थमा भाँजो हालेको उनीहरुको बुझाई छ , ‘नौलाखे तारा’लाई सबैतिरबाट नामेट गर्न चाहन्छन् । वास्तवमा रातोदिन दार्जिलिङलाई संझिने अम्बर बेघर हुन नेपाल नआएको भए हुन्थ्यो, आई बी राईसँगै बसेका भए हुन्थ्यो ।

अरु को हुन् त अम्बरका वैरीहरु? नेपालका कम्युनिस्टहरु! जो अम्बरले उनीहरुको पक्षमा पारिजातले जस्तो, निर्मल लामाले जस्तो सघाएनन् भन्दछन् । जैरेहरु! रामेश-रायन-मंजुल कता के गर्दैछन्? हिंजो उनीहरुको नारा घन्काउँदै हिंड्नेहरु कुन दुर्दशामा छन्? उनीहरुलाई थाहा छ? राजा महेन्द्रले ल्याएको ठप्पा टाउकोमा लागेका अम्बरले राजनैतिक अभिब्यक्ति दिएनन्, दिनु उचित पनि थिएन । हिन्दू धर्मको लागि रगत बगाउन तैयार भोला रिजालको स्वरमा स्वर खाप्ने सत्यराज-स्वरुपराजको नागरिकताको सवाल अब उठ्नेछ? भक्तराज आचार्यले दिएको योगदान र उनले कमाएको मान र प्रतिष्ठालाई अब जोखिन्छ किनकि राजनीति फोहरी खेल हो। अंगीकृत नागरिकताका अधिकार क्षेत्रका कुराहरु आइरहेछन्, यसले तराईका जनतालाई मात्रै होइन, पारिजातलाई पनि पोल्नेछ – निर्मल लामालाई पनि पोल्नेछ- भक्तराज आचार्यलाई पनि नछोड्ला । राजनीति घृणित खेल हो । कम्युनिस्टहरुको लागि कार्ल मार्क्स बाहेक मान्छे नै जन्मेका छैनन् र जन्मिने पनि छैनन्।

अरु अम्बरका दुश्मनहरु? पहिचानवादीहरु । जनजातिको आन्दोलनलाई सहायक हुने अभिब्यक्ति अम्बर जस्तो ब्यक्तित्वबाट आए आफ्नो आन्दोलनलाई मद्दत हुने उनीहरुको ठहर थियो । अम्बरले केवल ‘नेपाल- नेपाली’ मात्रै भने , उनको पृष्ठभूमिबाट पनि त्यो निस्किनु स्वभाविक थियो किनकि दार्जिलिङमा के बाहुन-के गुरुङ सबै राज्यबाट दमित थिए । अम्बरलाई इलामे वैरागी काइँला जस्तो सजिलो थिएन किनकि उनी दार्जिलिङबाट आएका थिए । अम्बरलाई यतिसम्म हेक्का रहेन कि सैन्य गान बनाउने उनलाई सेनाको सम्मानार्थ कर्नेल घोषणा गर्न सेना प्रमुख छत्रमान गुरुङ नै हुनुपर्यो । जातिवादी सरकारको के कुरा! त्यसले आदिवासी जनजातिलाई बाँदर मात्रै देख्तछ ।

अरु? स्वयं कलाकारहरु । जो संगीतलाई बेचेर किलो का किलो सुन किन्न चाहन्छन् । संगीतको लागि कुनै प्रकारको संझौता नगर्ने अम्बरसँग आँखा जुधाउन उनीहरुलाई डर लाग्थ्यो किनकि उनको अगाडि आफूलाई पुड्किँदै गएको महशुस गर्थे । उनका चेलाहरु पनि उनलाई छोडेर सस्तो नाम र दामतिरै कुदे ।

यति धेरै विषमताहरुबीच अम्बर बाँचे । आर्केस्ट्राको कुरा मात्रै गर्न सके किनकि आर्केस्ट्रा एक जनाले बजाउन मिल्दैन, उनलाई काँध दिन सक्ने देशमा कोही भेटिएन ।
र, उनको संघर्ष नजिकबाट नियालेका पिटर जे कार्थकले भने -“अम्बरले सधैं झै दिइमात्रै रह्यो, कसैबाट लिएन ।” रोगले जीर्ण बनाएको शरिर त्यागेर अम्बर तिमी मर्‍यौ, ठिकै भयो । मर्दामर्दै पनि तिमीले तिम्रा वैरीहरुलाई संतोकको सास फेर्न दियौ । नमरिकन तिम्रो योगदानको मूल्याङ्कन हुँदैनथ्यो , अब निस्किनेछन् गोहीहरु सर्वत्र आँसु बहाउन ।

 

– रबिन बान्तावा खाहोङ राई

This entry was posted in Article, Featured. Bookmark the permalink.

2 Responses to अम्बरका दुश्मनहरु! – रबिन बान्तावा खाहोङ राई

  1. मनोज बोगटी says:

    अब निस्किनेछन् गोहीहरु सर्वत्र आँसु बहाउन ।

    ती गोहीहरूको प्रतिनिधि त तपाईँ नै देखिनु भो।

  2. रबिन बान्तावा खाहोङ राई says:

    मनोज बोगटीले पनि चुहाए जस्तो लाग्यो त होउ, कता कता, हहह!

Leave a Reply

Your email address will not be published. Required fields are marked *